अब दाङबाट बाहिरी जिल्ला विरामी रेफर गर्नुपर्दैन

घोराही,७ वैशाख ।
दाङको घोराही स्थित सञ्जिवनी टिचिङ हस्पिटलले तीन वटा विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी गरेको छ । मुटु रोग(कार्डियोलोजी), मिर्गौला(युरोलोजी) र मष्तिष्क(न्यूरोलोजी) रोगको विशिष्टकृत सेवा सञ्चालन गर्ने तयारी रहेको छ । अबको एक महिनामा ति सेवा सुरु गर्न लागिएको अस्पतालका सिईओ दिपक रोकाले बताए । उनका अनुसार त्यसकालागि आबश्यक सामग्री र जनशक्ति ब्यबस्थापनको काम भइरहेको छ । खासगरि दाङमा विरामीको रेफरदर धेरै रहेकाले जिल्लामै उपचार गर्नकालागि अस्पतालले आबश्यकता अनुसार बिशिष्टिकृत सेवा समेत सञ्चालन गर्न लागेको हो । यस अघि जिल्लाबाट धेरै विरामीहरु बाँके, भैरहवा, बुटवल रेफर गर्नुपर्ने अबस्था थियो । तर, अब त्यो अबस्था हट्ने सिईओ रोकाले बताए ।


उनका अनुसार हाल सबै विशेषज्ञ सेवा हस्पिटलले प्रदान गरेको र केही समयमा विशिष्टिकृत सेवा समेत सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै केही बर्षमा एमविविएससहितका शिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरेको छ । हस्पिटलले माघ २८ गतेदेखि सेवा सुरु गरेको हो । ४ अर्ब लगानीमा निर्माण भएको अस्पतालमा हाल तीनसय सैया सञ्चालनमा छ । अस्पतालमा आईसियुसहितको सेवा भएकाले पनि बाहिर रेफर गर्नुपर्ने अबस्थाको अन्त्य हुने सिइओ रोकाको भनाई छ । अहिले हस्पिटलले देउखुरी,तुलसीपुर क्षेत्रबाट समेत निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ । हाल दैनिक एकसय भन्दा बढि विरामीले सेवा लिइरहेका छन्, भने २५ भन्दा बढि विरामीको भर्ना हुने गरेको छ । हाल अस्पतालमा ३५० जनाले रोजगारी प्राप्त गरेका छन् ।