ठेक्का नलाग्दै नदीजन्य पदार्थ ‘डम्पिङ’

तुलसीपुर, ४ पुष ।
खोलाजन्य बस्तुको मनपरी र मनलाग्दी उत्खनन्को नमूना बबई गाउँपालिकाको बबई नदी क्षेत्रमा देखिन्छ । स्थानीय सरकारले खोलाजन्य बस्तुको उत्खनन्कालागि टेण्डर गर्नुअघि नै तस्करले मनपरी र मनलाग्दी उत्खनन् गरेको पाइएको छ ।

तस्करले बबई गाउँपालिका–७ को कालीतरा र ओदाले क्षेत्रमा पर्ने बबई नदी क्षेत्रमा उत्खनन् कार्य मनपरी र मनलाग्दी गरेको पाइएको छ । स्थानीय सरकार तथा सरोकारवाला तस्करसामु निकम्मा बनेका छन् । टेण्डरअघि हुने यस्ता कार्यले स्थानीय आजित भएका छन् ।

बबई नदी आसपासमा तस्करले मनलाग्दी ढुंगा थुपारेर राखेका छन् । यस्तो कार्यप्रति स्थानीयले पनि खबरदारी गरेको देखिदैन । स्थानीयले तस्करबिरुद्ध पनि बोलेको पाइएको छैन । तस्करहरुले रातको समयमा वा कसैले नदेख्ने गरी नदीबाट ढुंगा निकाल्ने गरेका छन् । बबई नदीबाट निकालिएका ढुंगा कालीतरा र ओदाले गाउँका १० बढी स्थानमा थुपारिएको छ । स्थानीयलाई ढुंगा कसले थुपारेर राखेको हो भनेर सोध्दा स्थानीय कसैले बोल्दैनन् । कसैले सोधेको प्रश्नमा ट्रयाक्टरवालाको काम त होला भन्ने जवाफ मात्रै स्थानीयले दिन्छन् ।

यसरी थुपारेको ढुंगाको विषयमा स्थानीय सरकार बेखबर भने छैन । यसको नियमन र उत्खनन्को अधिकार प्राप्त गरेको स्थानीय सरकारले यसको तथ्यका लागि अनुगमन गर्न चासो देखाएको छैन । ढुंगा थुपारिएको बबई नदीक्षेत्रमा स्थानीय बबई गाउँपालिकाले उत्खनन्का लागि टेण्डर गरेको छ ।

विकास निर्माणका कार्य अघि बढेको भए अहिलेसम्म थुपारिएका ढुंगा तस्करीले ओसारी सक्ने स्थानीय बताउँछन् । नाम नबताउने शर्तमा स्थानीय एकजनाले थुपारिएका ढुंगा तस्करले रातिको समयमा ओसारपसार गर्ने बताउँछन् । रातिको समयमा नदीजन्य पदार्थ ओसारपसार गर्ने तस्करले गर्दा सुत्नै धौ हुने गरेको ती स्थानीयको भनाइ छ ।

चोरी तस्करी गर्ने मनसायले ढुंगा थुपारेर राखिएको स्थानीयले बताएका छन् । ओदाले क्षेत्रमा टेण्डर स्वीकृत गर्ने अनि कालीतराको ढुंगा उठाउने मनसाय तस्करको रहेको स्थानीयले बताउने गरेका छन् । यसले स्थानीय सरकार राजश्वबाट बञ्चित हुने र तस्करलाई फाइदा हुने देखिन्छ ।


नदीजन्य पदार्थ तस्करले उत्खनन् गरेर थुपारेको विषयमा बबई गाउँपालिका कार्यपालिका सदस्य नारायण परियारले पालिका अध्यक्षलाई जानकारी गराएको बताउनुभयो । आफूले त्यस क्षेत्रको नदीजन्य पदार्थ उत्खनन् गरेर थुपारेको देखेको भन्दै अनुगमनका लागि गरेको आग्रहलाई अध्यक्षले बेवास्ता गरेको कार्यपालिका सदस्य परियारले जानकारी दिनुभयो ।

गाउँपालिकाले टेण्डर गरेको भए पनि सबै क्षेत्रको टेण्डर परेको छैन । कालीतरा क्षेत्रमा खोलाजन्य पदार्थ मनपरी उत्खनन गरिएको छ । ओदालेमा पनि टेण्डर परेको होला तर टेण्डर सम्झौता नहँुदै गरिएको उत्खननका कारण भजिष्यमा ठूलो समस्या हुन्छ । ओदालेमा टेण्डर पारेर कालीतरा क्षेत्रको खोलाजन्य पदार्थ उत्खनन् गर्ने चलाखी रहेको कार्यपालिका सदस्य परियारले बताउनुभयो ।

यस विषयमा जानकारी लिदा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले टेण्डर स्वीकृत भएको क्षेत्रमा उत्खनन् भएको जानकारी दिनुभयो । ठेक्का लिएका ब्यवसायीले उत्खनन् गरेको भन्दै अध्यक्ष खत्रीले स्थलगतरुपमा अनुगमन नगरिएको जानकारी दिनुभयो ।

पालिका अध्यक्ष खत्रीले टेण्डर हालेकाले नै उत्खनन् गरेको बताउनुभयो । कालीतरा र ओदाले क्षेत्रमा भएको उत्खनन्को विषयमा आफूलाई पनि सूचना प्राप्त भएको बताउनुभयो । कार्यपालिका सदस्य नारायणले अनुगमनका लागि आग्रह गरेको भए पनि कार्यब्यस्तताले अनुगमन नगरिएको अध्यक्ष खत्रीले बताउनुभयो । टेण्डर गरेकामध्ये कालीतरा र ओदाले क्षेत्रमध्ये ओदाले मात्रै टेण्डरमा गएको छ । बबई गाउँपालिकाले टेण्डर गरेको १० स्थानमध्ये बबई–७ को ओदाले र बबई–५ र ६ को च्यांटीखोला मुहान क्षेत्रमा टेण्डर परेको छ ।

त्यसबाहेक आठ स्थानमा टेण्डर परेको छैन । पहिलो पटक गरेको सूचनामा सबै स्थानमा टेण्डर नपरेपछि पुनः टेण्डर गरेको बबई गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर राजेश देवकोटाले जानकारी दिनुभयो । टेण्डर नपरेपछि आठ स्थानको पुनः सूचना गरिएको छ । टेण्डर परेको क्षेत्रको सम्झौता प्रक्रिया अघि बढेको इञ्जिनियर देवकोटाले जानकारी दिनुभयो । साभारः नयाँ युगबोध