रोल्पाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ

रोल्पा, १ पुष/
रोल्पामा एक फरार अभियुक्त २९ वर्ष पछि पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का अमरवहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

२०५० असोज ३१ गते राति ९ वजेको समयमा साविक गैरी गाउँ गाविस वडा नं. ९ राम्ली धुलसीबोट खोलामा सोही ठाउँ वस्ने अमरसिंह झाँक्री र अमरवहादुर डाँगी विच राजनीतिक विषयमा विवाद भएको थियो ।

विवाद झै–झगडामा रुपान्तरण भई सो विषयमा रिसिईवी बढ्दै जाँदा अमरवहादुर डाँगीसमेतका व्यक्तिहरुले अमरवहादुर झाँक्रीलाई ढुंगा,लाठाी,छुरी र भाला समेतले आक्रमण गरि निर्मम तरिकाले हत्या गरि फरार रहेको प्रहरीको भनाइ छ ।


उक्त मुद्दाको रोल्पा जिल्ला अदालतले २०७० वैशाख ३१ गते फैसला गरेको थियो । फैसलामा अमरबहादुर डाँगीलाई सर्वश्वसहित जन्मकैद तोकिएको थियो ।

अदालतको फैसलापछि अभियुक्त फरार रहेकाले फैसला कार्यान्वयनका लागी जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा उनलाई मंसिर २८ गते दिउसो १२ वजे रुन्टीगढी गाउँपालिका वडा नं. ६ डुव्रिङमा फेला पारी पक्राउ गरेको थियो ।

पक्राउ डाँगीलाई मंसिर २९ गते रोल्पा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले लागेको कैद, सजाय भुक्तानका लागी जिल्ला कारागार कार्यालय रोल्पाको थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।