शिव राज खनाल
देउखुरी, २७ मंसिर ।
सम्राट र सगरमाथा सिमेन्ट कम्पनीका टिप्परहरु लमहीमा पक्राउ परेका छन । मापद्वण्ड बिपरित टिप्परले ओभरलोड सिमेन्ट बोकेको भन्दै राप्ती अञ्चल संयुक्त ट्रक ब्यबसायी समितीले पक्राउ गरेको हो । नियम बिपरित ३० टन सम्म लोड बोकेको पाईएको छ । १० चक्के गाडीले १७ टनसम्म बोक्न पाउने यातायात ब्यबस्था बिभागको मापद्वण्ड छ । समितीले ओभरलोड बोकेका ६ वटा टिप्पर पक्राउ गरेको छ । अन्य २ वटा टिप्पर बाटोबाटै कम्पन्नी तर्फ फर्किएको प्रहरीले बताएको छ ।
समितीले सम्राट सिमेन्ट कम्पनीको रा १ क २६१३ र सगरमाथा सिमेन्टको रा १ क १२८७, रा १ क १२८८, रा १ क १२७३, रा १ क १२४४ र रा १ क १२७५ नम्बरका टिप्परहरु नियन्त्रणमा लिएको छ । प्रचलित कानुन अनुसार छ चक्के ट्रकले १० टन, १० चक्केले १७ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन लोड बोक्न पाउने प्राबधान छ । तर सिमेन्ट कम्पनीले कानुनको धज्जी उडाउँदै क्लिङ्कर बोक्ने टिप्परमा ओभरलोड सिमेन्ट सप्लाई गरिएको पाईएको हो ।
ओभरलोड बोकेको पाईएमा नियमानुसार तत्काल कारबाही गरि ओभरलोड खाली गरेर पठाउने मापद्वण्ड छ । तर यसप्रती प्रहरीको चासो न्यून देखिएको छ । कम्पनीले लोड गर्दा नै ध्यान दिनुपर्ने ट्राफिक प्रहरी लमहीका प्रमुख महेन्द्र बहादुर चन्दले बताए । कारबाही गर्ने प्राबधान त छ, गरिँदै आईएको छ तर ओभरलोड झार्दापनि समस्या छ-ट्राफिक प्रमुख चन्दले भने-सामान सुरक्षित साथ राख्ने स्थान पनि छैन ।
ओभरलोडले सडक भताभुङ्ग
सडक क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण लमही घोराही सडक खण्ड धुजाधुजा भएको छ । यस सडक खण्ड पहिले देखिनै नाजुक अबस्थामा छ । गाडीले ३० टनसम्म सामान बोकेर आउने भएकाले सडक भत्किएर नाजुक अवस्थामा पुगेको ओभरलोडका कारण सडक खण्डमा दर्जनौ स्थानमा भत्किएको छ । राप्ती अञ्चल यातायात व्यवसायी समितिले तीन वर्षअघि बढी भारबहन बोकेका सवारीसाधन भित्रिन नदिन अभियान नै चलाएको थियो । तर कम्पनीहरुले आफ्ना गाडीहरुमा ओभरलोड बोकाउँदै आएका छन ।
व्यापक अभियान चलाएपनि कम्पनीको दादागिरीले ओभरलोड बोकाउँदै आएको राप्ती अञ्चल ट्रक ब्यबसायी समितीका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए । हामीले व्यापक रुपमा अभियान चलाउँदा पनि ओभर लोडका गाडी निर्वाधरुपमा हिड्ने गरेका कारण सडक जीर्ण अवस्थामा पुगेको छ । कम्पनीले टिप्परबाट सिमेन्ट बोकाउन थालेपछि ट्रक ब्यबसायी हरु मर्कामा पर्दै आएका छन ।
नियन्त्रनमा लिईएका टिप्परहरुलाई आइन्दा ओभरलोड नगर्ने सर्तमा नियम अनुसार कारबाही गरेर छाडिएको छ । ट्राफिक प्रहरी लमही, वडाप्रहरी कार्यालय लमहीको सहयोगमा टिप्पर नियन्त्रनमा लिएर नियमानुसार कारबाही गरि छाडिएको समितीका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले जानकारी दिए । दाङ लगाएत देश भर ओभर लोड बोक्ने सवारी साधनमा कमि हुन सकेको छैन । यसको प्रत्यक्ष असर एका तर्फ सडकमा परेको छ भने अर्को तर्फ ट्रक व्यावसायि मार मा परेका छन । यसमा नियमन गर्ने पक्ष उदासीन देखिँदा यस्तो समस्या आएको ट्रक व्यावसायि बताउछन् ।
लाइभदाङ । २७ मंसिर २०७९, मंगलवार १२:१३ बजे