जाजरकोट दुर्घटनाः विरामीलाई मेडिकल लैजादै गर्दा, विहे खाएर फर्किनेहरु पनि चढेका थिए

दाङ, २६ मंसिर । जाजरकोटको छेडागाड नगरपालिका ५ भिरपाटीमा भएको जीप दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

छेडागाड नगरपालिकाका सूचना अधिकारी देबबहादुर बुढाका अनुसार मृत्यु हुनेमा सवारी चालक भगवतीमाई गाउँपालिका २ दैलेखका मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढा रहेका छन् । त्यस्तै २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना स्थलमा तीना घाइते अबस्थामा भेटिएका थिए । ति मध्ये दुईजनाको उपचारकालागि अस्पताल लैजादा बाटोमै मृत्यु भएको थियो, भने एक जना छेडागाड नगरपालिका–२ का जयलाल अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

सोमबार दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप मध्यपहाडी सडकखण्ड अन्तरर्गत छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई २०० मिटर तल खसेको थियो ।


जन्तीको गाडी थियो
त्यो दैलेखबाट जन्ती ल्याएर आएको जीप हो । आईतबार दैलेखबाट जन्ती ल्याएर जाजरकोटको छेडागाड ४ मा आएको उक्त जीप सोमबार दिनभर जसो विवाह भएकै घरमा राखियो । एक्कासी एक जना विरामी परेपछि त्यही गाडीमा राखेर छेडागाड ६ स्थित स्वास्थ्य चौकीमा लैजान लागिएको थियो । विहेघरबाट केही पर गएपछि विहेघरबाट भोज खाएर फर्केकाहरु भेटिए । उनीहरु छेडागाडको वडा नं. ५ मा जाँदै थिए ।

त्यही क्रममा उक्त जीप भेटाएपछि त्यही जीपमा जाने भनि जीपमा ९ जना चढे । त्यो भन्दा अघि चालक सहित ३ जना जीपमा थिए । जीपमा चढेको ३ सय मिटर पर मध्यपहाडी लोकमार्गमा पुगेपछि दुर्घटनामा प¥यो । दुर्घटनामा ३ जना घाईते अबस्थामा भेटिएका थिए, भने ९ जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटनास्थलमा ओरालो पनि नभएको, मोड पनि नभएको, सडक पनि चौडा भएको छ । तर, २०, २५ मिटर घिसारिएर सडक तल खसेको छ । घटनास्थलमा राति १० बजेतिर जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोली पुगेको छ । शवलाई दशेरा स्वास्थ्य चौकीमा राखिएको छ ।

जिल्लाबाट डाक्टरहरुलाई बोलिाएर आईतबार विहान पोष्टमार्टम गर्ने तयारी गरिएको छ । सोही जीप विरामीलाई मेडिकल छोडेर फर्किने तयारीमा थियो । किनकी त्यो जीपमा दुल्हा, दुल्हीलाई लिएर आजै दैलेख जाने तयारीमा थियो ।