प्रतिनिधिसभा समानुपातिकमा दाङबाट ३ महिलाको सम्भावना

दाङ,२२ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकमा दाङबाट तीन पर्ने सम्भावना देखिएको छ । एमालेबाट २ र माओवादी केन्द्रबाट एक जनाको प्रतिनिधित्व हुने सम्भावना रहेको छ ।

एमालेबाट मेनका पोखरेल स्वतः पर्ने देखिन्छ । उनी खस आर्य तर्फको महिलाको १ नम्बर सूचिमा छन्, भने बन्द सूचिको पनि १ नम्बरमा छन् । एमालेले समानुपातिकमा प्राप्त गरेको ३४ सिट मध्ये १९ जना महिला राख्नु पर्ने अबस्थामा स्वतः पर्ने देखिन्छ । खस आर्यमा एमालेले ११ जनालाई राख्नु पर्ने छ ।

त्यस्तै एमालेकै आस्मा कुमारी चौधरीको पनि समानुपातिकमा पर्ने सम्भावना बलियो रहेको छ । उनी थारु महिलाको १ नम्बर सूचिमा छन् । थारु कोटामा दुईजनाको प्रतिनिधित्व हुनुपर्नेमा बन्द सूचिमा आस्मा नै अगाडी रहेकाले उनी पर्ने सम्भावना बढि छ ।


त्यस्तै दाङबाट माओवादी केन्द्रका नारायणी शर्मा‘प्रतिक्षा’ पनि समानुपातिकमा पर्ने सम्भावना बलियो रहेको छ । माओवादीले समानुपातिकमा प्राप्त गरेको १४ सिट मध्ये १२ जना महिलालाई राख्नु पर्ने अबस्था छ । त्यस्तो अबस्थामा खसआर्यको महिला सूचिबाट शर्मा पर्ने सम्भावना रहेको हो ।

खस आर्यमा ४ जना राख्नु पर्ने हुन्छ । धेरै महिलाको प्रतिनिधित्व हुनुपर्ने भएकाले खस आर्य महिला सूचिको तेस्रो नम्बरमा रहेकी शर्मा समानुपातिकमा पर्ने सम्भावना बढि देखिएको छ ।