राप्ती गाउँपालिका क्षेत्रमा कोठा भाडा तोकियो

भालुवाङ, २१ मंसिर ।
दाङको राप्ती गाउँपालिकाले भाडामा दिने कोठाको मूल्य तोकेको छ ।

कार्यपालिका बैठक मार्फत कोठा भाडा निर्धारण गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिएका छन् । राजधानी क्षेत्रमा आउने प्रदेशसभा सदस्य तथा कर्मचारीहरुले कोठा भाडामा लिनु परेमा सहुलियत मूल्यमा कोठा भाडामा दिनेगरी निर्णय गरेको छ ।

अटेच सहितको राम्रो कोठा भाडामा कर बाहेक मासिक ३ हजार, मध्यमलाई २ हजार ८ सय र सामान्य कोठालाई २ हजार २ सय मूल्य तोकेको हो । यो भन्दा बढी मूल्यमा कोठा भाडामा नलगाउन अनुरोध गरेको छ । राजधानी कार्यान्वयन सँगै राजधानी क्षेत्रको सडक सौन्दर्यता बढाउन पनि गाउँपालिकाले अपिल गरेको छ ।


सरसफाइ तथा सौन्दर्यकरण अभियानसमेत चलाइएको छ । प्रमुख राजमार्ग, सहायक राजमार्गहरुको दायाँबायाँ दुबै तर्फ सरसफाइ तथा सौन्दर्यकरण गर्न सबै राजनीतिक दल, भातृ संगठन, सामाजिक संघसंस्था तथा आम राजधानीबासीलाई अपिल गरिएको छ । ‘राजधानीमा आउने पाहुनाको स्वागत सत्कारका लागि मित्रवत व्यवहार अपरिहार्य छ’– अध्यक्ष बिष्टले भन्नुभयो– ‘उद्योगी, व्यवसायी, होटल व्यवसायीलगायत आमसर्वसाधारण यस महान अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।’

राजधानी क्षेत्र परिसरभित्र मुख्यमन्त्री कुलप्रसाद केसीले व्यवस्थापनको नेतृत्व सम्हाल्नुभएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा केसीले घाँस काटेर सरसफाइ अभियानको शुरुवात गरेका छन् ।