निकुञ्जको भित्रका गाउँ : बदेलले वाली खाईदिन्छ, फोन गर्न डाँडोमा जानुपर्छ

दीपक बोहरा,
दाङ, १९ मंसिर /
फोन गर्न २ घण्टा हिडेर अग्लो डाँडामा पुग्नु पर्छ । सडक ६ महिना चल्छ, ६ महिना बन्द हुन्छ । बरपर बनजंगल छ, तर सहजै दाउरा प्रयोग गर्न पाइदैन । बस्ती नजिकै खोला बग्छन्, तर खानेपानीको सहज सुविधा छैन् । यस्तै पीडाले पिरोलेको छ, राष्ट्रिय निकुञ्ज भित्रका गाउँहरु । बाँके राष्ट्रिय निकुञ्जमा पर्ने दाङ बबई गाउँपालिका वडा नं. ७ मलैखोलादेखि दंगीशरण गाउँपालिका वडा नं. १ मा पर्ने फुर्केसल्ली तथा आसपासका बस्तीहरुमा यस्तै समस्या छन् ।

यी दुबै स्थान राष्ट्रिय निकुञ्ज भित्र पर्छ । त्यहाँ टेलिकमको टावर नहुँदा घण्टौं हिडेर अग्लो डाँडोमा पुगेर फोन गर्नुपर्ने अबस्था रहने गरेको छ । पटक–पटक टावर निर्माणको माग गरेपनि त्यसको सम्बोधन हुन नसकेको मलैखोला निवासी बमबहादुर बुढाले भने ।“हामीले पटक–पटक यहाँको टेलिफोनको समस्या समाधानकालागि ठाउँ–ठाउँमा भन्यौं”,उनले भने “तर, हाम्रा मागहरु सम्बोधन भएका छैनन् ।”

टेलिकमको टावर निर्माणकालागि गएको बर्ष सर्वेमा आएको भएपनि त्यसपछि भने देखा नै नपरेको उनले गुनासो गरे । त्यहाँ सडकको हालत पनि उस्तै छ । २०६३ सालतिर त्यहाँ सडकको ट्रयाक खोलिएको हो । तर, अहिलेसम्म पनि त्यसको स्तरोन्नती हुन सकेको छैन । त्यहाँ बर्षादको समयमा सडक आवतजावत नै ठप्प हुन्छ ।“बर्षादमा ६ महिना सडक बन्द हुन्छ”, मलै निवासी अमर बुढाले भने “बाँकी ६ महिनामात्रै गाडी चल्छ, त्यो पनि धुलाम्मे हुन्छ ।”

त्यहाँ कक्षा १० सम्म पढाई हुने विद्यालय छ । त्यो भन्दा मथिल्ला शिक्षा आर्जन गर्न विद्यार्थीहरु कि त घोराही, कित तुुलसीपुर पुग्नु पर्ने बाध्यता छ । आर्थिक अबस्था कमजोर हुनेहरु पढाई छोडेर भारततर्फ जानुपर्ने अबस्था छ ।“आर्थिक अबस्था राम्रै हुनेहरु त कोही घोराही, कोही तुलसीपुर गएर पनि पढ्नु हुन्छ”, स्थानीय प्रेम पुनले भने “आर्थिक अबस्था कमजोर हुनेहरु कामको सिलसिलामा भारत जाने गर्छन्, त्यसरी नै धेरै विद्यार्थीहरुले बीचमै पढाई छोड्न गरेका छन् ।”

त्यहाँको मलै खोलाको कटानले पनि उस्तै समस्या बनाएको छ । खोलाले खेति योग्य जमिन कटान गर्न समस्यामा रहेको पुनले बताए । त्यहाँका बस्तीहरु राष्ट्रिय निकुञ्जको बीचमा छन् । त्यहाँ बाघ,भालुलगायत जनावरको त्रास उत्तिकै हुन्छ । कहिले काही बाघले गाई,बाख्रा खाईदिने समस्या हुने गरेको छ । त्यतिमात्रै नभई किसानले लगाएका बाली पनि बदेँलले नष्ट गरिदिन्छ ।


वरिपरी बनजंगल भएपनि त्यहाँको काठदाउरा त्यहाँका बासिन्दाले सहज प्रयोग गर्न पाउँदैनन् । स्थानीय समितिको सल्लाह अनुसार दाउरा पाएपनि आबश्यक परेको खण्डमा काठहरु प्रयोग गर्न पाउँदैनन् । त्यसले पनि आफूहरु मारमा परेको फुर्के सल्ली निवासी प्रकाश रोकायले बताए ।“२०६८ सालमा त्यहाँ राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो”,उनले भने “त्यसपछि हामीले त्यो जंगललाई राम्रोसंग प्रयोग पनि गर्न पाएका छैनौं ।”

विकट भएकै कारण केही पशु विरामी हुँदा त्यहाँ प्राबिधिक पनि आउन नमान्ने गरेको उनले बताए । “पोहोरसाल पशु विरामी परे, हामीले प्राबिधिकहरु बोलायौं, तर, दुर्गम भएकै कारण यहाँ आउन मान्नु भएन्”,उनले भने “त्यसपछि मैले आफैले भाडा हालेर उहाँहरुलाई यहाँ ल्याएको छु ।”

बबई, मलैखोला हुँदै बाँकेको कोहलपुर जोड्न सकिएमा त्यहाँका नागरिकले सहज सेवा पाउने आशा गरिएको छ । सडक पनि स्तरोन्नती हुने र विकास पनि हुने भएकाले त्यहाँको त्यो सडकलाई कोहलपुरसम्म जोडिदिन माग गरेका छन् ।

निकुञ्ज भित्रका यी बस्तुहरुमा उम्मेदवार पनि प्रचार प्रसारको अन्तिम तिर मात्रै पुग्ने गर्छन् । फुर्केसल्ली र मलैखोलामा बुधबार मात्रै उम्मेदवारहरु त्यहाँ पुगे । साभार : अग्रिम साप्ताहिक