दाङ
१५ भदौ / थारु समुदायले कृष्ण जन्माष्टमीलाई दोस्रो ठूलो पर्वका रुपमा मनाउछन् । यसको तयारी हप्ता दिन अघि देखि सुरु हुन्छ । भेषभुषा, रहनसहन, खानपानमा धनी मानिएको थारु समुदायले एक हप्ता अघि देखि नै ‘अष्टिमकी’कालागि रातो/कालो चोली, सेतो गुन्यो, महिलाले रातो÷कालो ब्लाउज, सेतो गुन्योको जोहो गर्छन्, भने कुकुमङ्का, सुट्या, झिमल्या, पाइजुप, टँ¥यालगायतका गहना लगाउने गर्छन् । जुन अष्टिमकी मनाउँदा लगाउने गरिन्छ ।
अष्टिम्कीको तयारी स्वरुप भात, तरकारी पकाउनका लागि दाउरा, चेलीबेटीलाई अग्रासन दिनको लागि पात पनि पहिले नै टिप्ने गर्दछन् । अष्टिमकीको अघिल्लो दिन दर खाने दिन रहेकाले त्यो दिनकालागि थारु महिलाहरु माछा मार्न खोलामा जान्छन् । खोलामा गएर माछा मारेर ल्याउछन्, र माछा, घोङी,मासुलगायतका मिठा–मिठा परिकार बनाएर दर खाने गर्छन् ।
साथै पुजा गर्नकालागि थरिथरिका रंग, चुना, गाईगोरुको मल, माटो, चित्र बनाउन प्रयोग गरिने बाँसको ब्रसले डेह्री र घरको भित्तामा कृष्णको चित्र बनाउछन् । महतवा (बरघर, भल्मन्सा) को बैठक कोठामा ‘अष्टिम्की’ मा पूजा गर्नका लागि उत्तर तर्फको भित्ता वा डेह्रीमा चतुर्भुज आकार बनाएर गोवर माटोले लिपपोत गरि त्यसमा सेतो चुनाले रंगाइन्छ र, बीचमा श्रीकृष्णको चित्र बनाईन्छ भने उनको दाहिने तर्फ सूर्य र बायाँतर्फ चन्द्रमाको चित्र बनाइन्छ ।
दोस्रो लाइनमा सात जना मानिसको चित्र बनाइन्छ । जहाँ सात भाई कौरबको प्रतिकको रुपमा हुन्छ । तलको भागमा दुुल्हा–दुलही, दुलहीलाई माइती तर्फकाले पठाउन जान लागेको ‘डोली’, जन्ती आएको दुल्हालाई लैजान लागेको ‘ड्वाला’, माछा, गंगटा, विच्छी, बाघ, हात्ती, मयूर, सर्प, गाई, गोरु, विरालो, जंगलमा पाइने थरिथरिका हिंस्रक जनावर, थरिथरिका चराचुरुंगी, पानीमा पाइने जिव लगायतको चित्र भित्तामा बनाइन्छ ।
कृष्ण जन्माष्टमी(अष्टिमकी)को दिन साना–ठूला सबै महिलाहरु ब्रत बस्ने गर्छन्, कहिँ कतै पुरुषहरु पनि ब्रत बस्ने गरेका छन् । त्यही दिन साँझ श्रीकृष्ण (कान्हा) जन्मेकाले घरको भित्तामा बनाईएका चित्रमा टिका लगाउने तथा फलफूल चढाउने गरिन्छ । ब्रत बसेका गाँउभरिका महिला, यूवती र किशोरीहरु मटावाको घरमा बनाएको चित्रमा पूजा गर्न जान्छन् । भित्तामा बनाइएको चित्रको सवैभन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्ये विचमा रहेको श्रीकृष्णलाई टिका लगाएपछि मात्र अरुलाई टिका लगाईदिने गरिन्छ ।
चित्रमा भएका सवैलाई टिका लगाएपछि सिन्दूरको टीका, कलशमा रहेको जल चढाएर पूजा गरिन्छ । पुजा गरिसकेपछि सबैले कृष्ण लिलाम आधारित गीत पनि गाउछन् । त्यसपछि सबै आफ्नो घरमा गएर दही, फलफुल कृष्णको नाममा चढाउँछन् र, खानपिन गर्छन्, र महतवाको घरमा गएर गएर रातभर कृष्ण लिलाम आधारित ‘अष्टिम्की’ को गीत गाउँछन् ।
रातभर गीत गाएर विहानीपख उठेर ब्रत बसेका महिलाहरु आफूले चढाएका फलफूल टपरीमा राखेर नजिकैको नदी, ताल, खोला, सागर र कुलोमा गएर बगाउछन् । आफूले चढाएको बस्तु बगाएपछि स्नान गरि घर फर्किन्छन् । महिलाले नदी र खोलामा बगाएको बस्तु यूवाहरुले समात्ने चलन छ ।
त्यसपछि घरमा आएर कृष्णको नाममा पकाएको भात र तीन या पाँच थरिका तरकारी आफ्नो दाजुभाईका लागि छुट्याउँछन् । यसलाई थारु समुदायमा कहर्ना भन्दछन् । त्यसपछि भात, सवै तरकारी र जल अग्नीलाई चढाएर त्यहि भात र तरकारी आफ्नो दाजुभाईलाई उपहार(अग्रासन) को रुपमा दिने चलन रहेको छ ।
फेरिदै शैली
पछिल्लो समय थारु समुदायमा मनाईने अष्टिमकीको शैली फेरिन थालेको छ । पहिले महतवाको घरमा गएर पुजा आजा गर्ने गरिएकोमा अहिले आफ्नै घर–घरमा चित्र बनाएर घरमै पुजा गर्ने चलन बस्न थालेको अधिबक्ता समेत रहेका थारु अगुवा रामशरण चौधरीले बताए । ‘पछिल्लो समय थारु समुदायले अष्टिमकी मनाउने शैलीमा फेरिएको छ, पहिले–पहिले महतवाको घरमा गएर मनाउने छलन थियो’, उनले भने ‘तर, अहिले आफ्नो–आफ्नो घरमा गएर मनाउने गरेका छन्, यसलाई सुधार गर्नुपर्छ ।
’थारु समुदायले अष्टिमकी मनाउने शैली अन्य समुदाय भन्दा भिन्न रहेको भन्दै यसलाई जोगाउन आबश्यक रहेको नमूना भूह्यारथानका महतवा सम्भुप्रसाद चौधरीले बताए । अब महतवाको घरमा नभई समूहिक रुपमा यस्तै संघसंस्थाको आयोजनामा भब्य रुपमा मनाउन सकिने उनको भनाई छ । यस बर्ष आफूहरुले सुरुवात गरेको भन्दै यसलाई आगामी दिनमा निरन्तरतादिने बताउनुभयो । ‘यस बर्ष हामीले ५ र ६ नम्बर वडाका चार वटा टोलले संयुक्त रुपमा कार्यक्रम ग¥यौं’, उनले भने ‘ आगामी बर्ष यसलाई निरन्तरता दिनेछौं ।’
यसलाई प्रचार–प्रसार गर्न आबश्यक रहेको स्थानीय महिला आस्मी चौधरीले बताईन् । उनका अनुसार नयाँ पुस्ताले यस्तो महत्व बुझ्नु पर्ने र यसलाई निरन्तरता दिनुपर्छ । रोग व्याद नलागोस्, रोग निको होस्, भनेर यसरी ब्रत बस्ने गरिन्छ ।
लाइभदाङ । १५ भाद्र २०७८, मंगलवार २१:४२ बजे