विमलालाई राज्यमन्त्री दिने तयारी

दाङ
२९ साउन / लुम्बिनी प्रदेशको सत्ता परिबर्तनमा निर्णायक भूमिका निर्वाह गरेकी सांसद विमला ओलीलाई राज्य मन्त्री दिने तयारी गरिएको छ । माओवादी केन्द्रका एक नेताले भने‘हामीले छिट्टै विश्वासको मत लिने तयारी गरेका छौं, त्यसपछि हामीले मन्त्री परिषद विस्तार गर्छौं, त्यतिबेला विमलालाई राज्य बनाएर लैजाने कुरा ढुक्क हो ।’

भदौ १/२ गते तिर नै विश्वासको मत लिने गरि तयारी गरिएको उनको भनाई छ । त्यस लगतै मन्त्री परिषद विस्तार गरिने र विमला राज्य मन्त्री बनाउने निश्चित नै रहेको उनको भनाई छ । सत्ता परिबर्तनमा निर्णयक भूमिका खेलेकी विमलालाई विहीबार मन्त्री नबनाएपछि व्यापक आलोचना भएको थियो । २०७६ साल मंसिरमा भएको उपनिर्वाचनमा दाङ क्षेत्र नं. ३(२) (श्रीमान उत्तरकुमार ओलीको स्थान) मा उम्मेदवार बनाईएको थियो ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट निर्वाचत भएकी उनले दुई पार्टी माओवादी केन्द्र र एमाले अलग–अलग भएपछि पार्टी रोज्दा माओवादी केन्द्र रोजिन, त्यो पनि निर्णायक समयमा । जतिबेला तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल एक दलको बहुमतका आधारमा मुख्यमन्त्री बन्ने तयारीमा थिए । तत्कालिन अबस्थामा ८१ सांसद कायम रहेको अबस्थामा एमालेसंग मात्रै ४१ सांसद थिए ।

त्यही बेला विमलाले राजीनामा दिएपछि एमालेको एकल बहुमत गुमेको थियो । त्यसयता विमला माओवादी केन्द्रप्रति प्रतिबद्ध रहेकी छिन् । उनलाई साउन १५ गतेदेखि एक हप्तासम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाउँदा पनि त्यहाँबाट भागेर आफू माओवादीको सम्पर्कमा आएको पत्रकार सम्मेलनमा बताएकी थिइन । उनको यो परिपक्क कार्यशैलीले पनि माओवादी भित्र मात्रै नभई बाहिरबाट पनि मन्त्री बनाउनु पर्ने आवाज उठिरहेको छ ।


सत्ता परिबर्तनमा सहयोग गर्ने सबैलाई सहयोग
मुख्यमन्त्री कुलप्रसाद केसी नियुक्त भएसंगै सत्ता परिबर्तन गर्न सहयोग गर्नेहरुलाई विशेष भूमिका दिने तयारीमा छन् । सांसदबाट राजीनामा दिएका तत्कालिन एमाले सांसद दाङ क्षेत्र नं. २ को प्रदेशसभा २ निर्वाचित अमरबहादुर डाँगीलाई विहीबार नै राजनीतिक सल्लाहकार नियुक्ती गरिसकेको छ ।

उनी सांसद पदबाट राजीनामा दिनु भन्दा पहिले एमाले ओली समूहमा थिए । तर, पछिल्लो राजनीतिक संस्कारप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको र माधव समूहलाई सघाउने प्रतिक्रिया दिएका थिए । अहिले उनी मुख्यमन्त्रीको राजनीतिक सलल्लाहकार नियुक्त भएका छन् । निर्णायक भूमिका निर्वाह गर्ने जसपाका तीनै जना सांसद मन्त्री भएका छन् । विमलालाई पनि राज्यमन्त्री बनाउने गरि तयारी गरिएको छ ।

अहिले ७ जनाको मन्त्रीपरिषद रहेको छ । विश्वासको मतसंगै १३ जनाको मन्त्रीपरिषद बन्ने तयारी छ । त्यसकालागि सत्तामा माओवादी र काँग्रेसको भागमा ४/४ वटा, जसपाका ३ वटा, स्वतन्त्रका एउटा मन्त्रालय भाग परेको छ । ति मध्ये अब काँग्रेस र माओवादीका ३/३ जना मन्त्री थपिने छ । जसपा र स्वतन्त्रको भने विहीबार नै मन्त्री नियुक्त भइसकेका छन् ।