प्रमोद आचार्य,
दंगीशरण, १३ मंसिर ।
दंगीशरण गाउँपालिकाका ७ वटै वडामा एकैसाथ राष्ट्रिय परिचय पत्र बनाउने अभियानको शुरुवात हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको सह आयोजनमा सोमबार एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि तथा वडा सचिबका लागी १ दिने अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
हरेक नागरिकले अनिवार्य रुपमा बनाउनु पर्ने राष्ट्रिय परिचय पत्र बनाउन जनतालाई सास्ती भएको जनगुणासोपछि जिल्ला प्रशासन दाङको समन्वयमा हरेक उपमहानगर तथा पालिकाका वडामै पुगेर परिचयपत्र बनाउने अभियानलाई अगाडि बढाएको छ । उपमहानगर सकेर पालिकामा प्रबेश गरेको अभियान पालिका अन्तर्गत दंगीशरणबाट सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले बताउनुभयो ।
मंगलबार कर्मचारीहरुले परिचय पत्र बनाउन आवश्यक ब्यबस्थापन गर्ने र बुधबारदेखी दंगीशरणका ७ वटै वडामा अभियान लग्न थालेको पालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । यस्तै पालिका अध्यक्ष गिरीले राष्ट्रिय अभियानमा हरेक नागरिकले बनाउनै पर्ने राष्ट्रिय परीचय पत्र उत्साहका साथ आफ्नो–आफ्नो वडामा आफ्नो पालो अनुसार सहभागी भई परिचय पत्र बनाउन आग्रह गर्नुभयो ।
दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिको सभापतीत्वमा भएको अभिमुखिकरण कार्यक्रममा बिभागका प्राबिधिक बिपिन आचार्यले जनप्रतिनिधि तथा वडा सचिबहरुलाई परिचय पत्र बनाउदा गर्नु पर्ने काम र चाहिने प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।
लाइभदाङ । १३ मंसिर २०७९, मंगलवार १३:२६ बजे