दाङमा गठबन्धन हावी, सबै क्षेत्रमा जित्यो

दाङ, ९ मंसिर ।
दाङका सबै क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनले जितेको छ । मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत ३ वटा प्रतिनिधिसभा सदस्य र ६ प्रदेशसभा सदस्यमा गठबन्धनले जितेको हो । दाङ क्षेत्र नंं.१ एकीकृत समाजवादी, क्षेत्र नं.२ माओवादी र क्षेत्र नं. ३ काँग्रेसलाई भाग परेको थियो । त्यस्तै ६ वटा प्रदेशसभा मध्ये ४ वटा काँग्रेसलाई र २ वटा माओवादीलाई भाग परेका थियो ।

दाङ १ मा दोहोरिए मेटमणी
दाङ क्षेत्र नं. १ को प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार मेटमणी चौधरी दोहोरीएका छन् । उनी यस अघि २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । तत्कालिन एमालेबाट निर्वाचित भएका उनी हाल नेकपा एकीृतत समाजवादीबाट विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका शान्ता चौधरीलाई ५ हजार ८४ मतले पछि पार्दै विजयी भएका हुन् । यो संगै मेटमणीको संसद यात्रा दोस्रो पटक हो । उनले २६ हजार ५ सय ६३ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी एमालेका चौधरीले २१ हजार ४ सय ७९ मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७ सय ९४ मत ल्याएका छन्, भने नागरिक उन्मुक्ती पार्टीका सुरेन्द्र चौधरीले ८ हजार १० मत ल्याएको निर्वाचन अधिकृत मानबहादुर विष्टले बताए । क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७ सय ३३ मतदाता मध्ये ८० हजार ७ सय मत खसेको थियो । जहाँ ४ हजार ५ सय ६७ मत बदर भएको छ ।

दोहोरिए इन्द्रजित
दाङको क्षेत्र नं.१ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजित चौधरी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका गंगाराम भट्टराईलाई १ हजार ७ सय ७५ मतान्तरले पछि पार्दै विजयी भएका छन् । चौधरीले १३ हजार ५ सय ५ मत ल्याएका छन्, भने भट्टराइले ११ हजार ७ सय ३० मत ल्याएका छन् । चौधरी बहालवाला लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्यान मन्त्री समेत हुन् । उनी २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए, भने २०७७ सालमा सोही क्षेत्रमा प्रदेशसभा सदस्य भएका थिए ।

खुमबहादुर खड्काका छोरा विजयी
दाङ १ ‘ख’ दिवंगत खुमबहादुर खड्काका छोरा अनुराग खड्का विजयी भएका छन् । काँग्रेसका नेता अनुराग खडकाले निकटतम प्रतिस्पर्धी एमालेका लमही नगरपालिकाका निवर्तमान प्रमुख कुलबहादुर खड्कालाई ३ हजार ५२ मतान्तरले पछी पार्दै विजयी भएका हुन् । खड्काले १६ हजार २ सय २२ मत ल्याएका थिए, भने केसीले १३ हजार १ सय ७० मत ल्याएका थिए ।

दाङ २ मा शंकरलाई हराउँदै रेखा विजयी
दाङ २ मा एमाले महासचिब शंकर पोखरेललाई हराउँदै माओवादी केन्द्रकी नेतृ रेखा शर्मा विजयी भएकी छन् । शर्माले पोखरेललाई १९६ मतान्तरले मात्रै विजयी निकालेकी हुन् । शर्माले २६ हजार ८ सय ७७ मत ल्याएकी थिइन, भने पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए। त्यस्तै स्वतन्त्र पार्टीले १७ हजार ८ सय २० मत ल्याएको थियो । यो रेखाको प्रत्येक्ष निर्वाचनको पहिलो लडाई र पहिलो जित हो । यस अघि रेखा २०७० र २०७४ सालमा दाङबाट प्रतिनिधित्व गर्दै समानुपातिक सांसद भएकी थिइन ।
पोखरेलको भने यो तेस्रो हार हो । पोखरेलले संघीय निर्वाचन जितेको एक पटक मात्रै हो । पटक पटक चुनाब लड्ने तर, नजित्ने नेताको छबि पोखरेलले बनाएका छन् । उनी २०५१ सालमा मात्रै संघीय निर्वाचन जिते । तत्कालिन अबस्थामा काँग्रेसका दीपक गिरीलाई दाङ क्षेत्र नं.३ बाट हराउँदै पोखरेल विजयी भएका हुन् ।
त्यस यता २०५६ सालमा काँग्रेसका कृष्णकिशोर घिमिरेसंग हारे, भने २०७० सालमा काँग्रेसका बुद्धिराम भण्डारीसंग हार ब्यहोरे । २०६४ सालमा उनी समानुपातिक सांसद भएर सञ्चार मन्त्री समेत भए । २०७४ सालमा तत्कालिन अबस्थामा भएको बाम गठबन्धनबाट प्रदेशसभा सदस्य दाङ २ को १ बाट निर्वाचित भएर मुख्यमन्त्री भए ।

काँग्रेसका खनाल विजयी
दाङ क्षेत्र नं. २ को प्रदेसभा १ बाट काँग्रेसका राजु खनाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणालाई एक हजार एकसय ६७ मतान्तरले पछि पार्दै खनाल प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । खनालले १५ हजार ६ सय १६ मत ल्याएका थिए, भने राणाले १४ हजार ४ सय ४९ मत ल्याएका थिए ।
त्यस्तै राप्रपाका गोपाल बेल्वासेले ३ हजार ३ सय ३७ मत ल्याएका थिए । सोही निर्वाचन क्षेत्रमा ६६ हजार ३ सय २२ मतदाता रहेकोमा ३७ हजार ८६ मत मात्रै खसेको थियो । खसेको मत मध्ये १ हजार ४ सय ८५ मत बदर भएको थियो ।

गुन्टु बिजयी
दाङ क्षेत्र नं. २ को प्रदेशसभा २ बाट नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) विजयी भएका छन् । गठबन्धन तर्फका उम्मेदवार न्यौपानेले १७ हजार ४ सय २३ मत प्राप्त गरी बिजयी भएका हुन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गिरिराज केसिले १६ हजार ६ सय ९९ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तरण ७ सय २४ रहेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उमाकान्त भण्डारीले ३ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ४२ हजार ३ सय ६४ मत खसेको थियो ।


दाङ–३ः कोमल वलीलाई हराउँदै दीपक गिरी विजयी
दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक गिरी विजयी भएका छन् । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरी प्रतिस्पर्धी एमालेका कोमल वली भन्दा ७ हजार ८ सय १० मत ल्याएर विजयी भएका हुन् । ३६ हजार ८ सय ४२ मत ल्याएका छन्, भने वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीे १५ हजार ३ सय मत ल्याएका छन् । गिरी दोस्रो पटक संसदमा प्रवेश गरेका छन् । गिरी २०५१ सालमा एमालेका शंकर पोखरेलसंग हार ब्यहोरेका थिए , भने २०६४ सालमा माओवादीका शुष्मा शर्मा घिमिरेसंग हार ब्यहोरेका थिए । २०७० सालको संविधानसभाको निर्वाचनमा भने गिरीले तत्कालिन एमालेका नेता दिवंगत उत्तरकुमार वलीलाई हराउँदै विजयी भएका थिए ।

२०७४ मा पुनः उनले तत्कालिन एमालेका जिल्ला सचिब हिराचन्द्र केसीसंग हार ब्यहोरेका थिए । अहिले पुनः एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वलीलाई हराउँदै विजयी भएका छन् । उनी पूर्व सिंचाई मन्त्री समेत हुन् । सिंचाई मन्त्री हुँदा दाङमा बृहत दाङ उपत्यका सिंचाई आयोजनाको कार्यालय खोलेर चर्चा कमाएका थिए ।

गठबन्धनका चौधरी विजयी
दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ मा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरीले विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी एमालेका घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पछि पार्दै विजयी भएका हुन् । चौधरीले १९ हजार ८सय ५० मत ल्याएका छन्, भने तुलसीपुरका निवर्तमान मेयर समेत रहेका एमालेका केन्द्रीय सदस्य पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।

चौधरी प्रदेशका बहालवाला पर्यटन,ग्रामिण तथा सहरी विकास मन्त्री हुन् । उनी यो संगै तेस्रो पटक संसदमा छिर्दैछन् । २०७० सालको संविधानसभाको निर्वाचनमा उनी समानुपातिक सांसद भएका थिए । त्यतिबेला उनी श्रम रोजगार राज्यमन्त्री समेत भएका थिए । २०७४ सालमा उनी काँग्रेसका साविक राप्तीबाट प्रदेशसभामा जित्ने एक मात्रै नेता थिए ।

जनसेनाका डिभिजन कमाण्डर विजयी
दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश) विजयी भएका छन् । प्रदेशसभा सदस्यकालागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार ३ सय २१ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर २ हजार १ सय ६१ रहेको छ । घोषणा हुन भने बाँकी रहेको छ ।

मास्कीलाई प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि हेरिएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्माका अनुसार मास्की भन्दा पछि डिभिजन कमाण्डर भएकाहरु कोही मुख्यमन्त्री भइसकेका र कोही मन्त्री भइसकेको भन्दै अब मास्की मुख्यमन्त्रीको लाइनमा रहेको बताए । मास्की पहिलो पटक संसदमा प्रवेश गर्ने अवसर पाएका छन् । उनी जनयुद्धका चर्चित कमाण्डर पनि हुन् ।
त्यस्तै निर्वाचनमा राप्रपाका भुपाल रावतले ३ हजार ४ सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले ५ सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले ४ सय ५०, दुर्गा बहादुर वलीले २ सय ७८, गणेशबहादुर बस्नेतले १५९ राजन डाँगीले १२०, भुपबहादुर विकले ११८ मत ल्याएका छन् । सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।