दाङ क्षेत्र नं.३ को मतगणना भू–संरक्षण कार्यालयमा गरिने

तुलसीपुर, ४ मंसिर ।
दाङ क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गणना गरिने तयारी गरिएको छ । मत गणनास्थलमा तारजाली लगाउने र सिसी क्यामरा जडान गर्ने काम सकिएको क्षेत्र नं. ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।
दाङमा निर्वाचन क्षेत्र नं ३ निर्वाचन क्षेत्रका तीनवटै क्षेत्रबाट मतगणना गर्न थालिएको हो । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिनेसमेत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तीन क्षेत्रका तीन स्थानमा मतगणना गरिने भएको छ । दाङका तीन निर्वाचन अधिकृतको कार्यालय मत गणनास्थलको तयारीमा जुटेको छन् । निर्वाचन क्षेत्र नं. १ मा मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु गरिएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । दाङ क्षेत्र नम्बर १ को मतगणना लमही नगरपालिकाको कार्यालयमा हुनेछ ।


त्यसैगरी क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिमा मतगणना गर्ने र सो स्थललाई तारजाली लगाउने, सिसी क्यामरा जडान गरेर सुरक्षित गर्ने काम भइसकेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुनेछ ।
दाङमा एक सय ५३ मतदानस्थल, चार सय ६५ मतदान केन्द्र छन् । दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ ।

अस्थायी मतदान केन्द्रबाट कैदीबन्दीले मतदान गर्नेछन् दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।