
दीपक बोहरा
दाङ,२९ कात्तिक ।
मंगलबार विहान ११ साढे ११ बजेको थियो । विद्यालयका प्रिन्सीपलले सम्पूर्ण मतदाताहरुलाई लाईनमा आउन आग्रह गरे । विद्यार्थीहरु सबै मतदाताको लाईनमा आए । एकतिर छात्राहरु र अर्को तिर छात्रहरु मतदानकालागि लाईनमा बसे । आम निर्वाचनमा मतदान स्थल जसरी ब्यबस्थापन गरिएको हुन्छ, त्यसरी नै ब्यबस्थापन गरियो । मतदान स्थलको सुरक्षाकालागि प्रहरी र म्यादी प्रहरी खटिएका थिए, भने मतदान अधिकृतसहित अन्य कर्मचारी, पर्यवेक्षेक र रिपोर्टिङकालागि पत्रकारहरु पनि थिए ।
मतपत्र,स्वस्तिक छाप, मतपेटिकालगायतका सामग्रीरु राखिएको थियो । यो तुलसीपुर १८ स्थित न्यू स्टार माध्यामिक विद्यालयले गरेको नमूना मतदान थियो । कक्षा १० को सामाजिक किताबमा भएको निर्वाचन प्रक्रिया सम्बन्धिको पाठ अनुसार विद्यार्थीहरुलाई निर्वाचनको शिक्षा दिन मतदानको कार्यक्रम नै आयोजना गरियो । कक्षा ७,८, ९ र १० का विद्यार्थीहरु त्यो मतदानको मतदाता थिए, भने उनीहरुबाटै पार्टी बनाई उम्मेदवार बनाईएका थिए ।
चारवटा पार्टी त्यो चुनाबमा सहभागि भए । त्यो प्रतिनिधिसभाको मात्रै निर्वाचन थियो । चारवटा पार्टीबाट ४ जना प्रत्येक्षका उम्मेदवार थिए, भने चारवटै पार्टीबाट ७/७ जना समानुपातिक उम्मेदवार थिए । उनीहरुले सोमबार नै सबै मतदाता(विद्यार्थी)हरुसंग भोट मागे । त्यसपछि मंगलबार निर्वाचन भयो । त्यो निर्वाचनमा भाग लिएका पार्टी मध्ये नेपाल अनुशासन पार्टीले विजयी हाँसिल ग¥यो । त्यो पार्टीको उम्मेदवारमा अनिशा वली थिइन । जम्मा खसेको ११७ मत मध्ये ११० मत मात्रै सदर भएको थियो । ७ मत भने बदर भए । सदर मत मध्ये वलीले ३७ मत ल्याएर विजयी भए ।
त्यो निर्वाचनमा नेपाल हरियाली पार्टीबाट विवेक पुन मगर, नेपाल युवा पार्टीबाट अंकिता रोका र नेपाल जनता पार्टीबाट पुष्पकमल डाँगी उम्मेदवार थिए । मतदान अधिकृतको जिम्मेवारीमा विद्यालय ब्यबस्थापन समितिका सदस्य विष्णु प्रसाद धिताल थिए । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै प्रयोगात्मक ज्ञान आबश्यक पर्ने भन्दै आफूहरुले यसरी नमूना मतदान कार्य गरेको विद्यालयका प्रिन्सीपल शरण जीएमले बताए । “विद्यार्थीहरुलाई किताबी ज्ञानमात्रैले पुग्दैन्, प्रयोगात्मक ज्ञान पनि दिनुपर्छ”,उनले भने “निर्वाचन महत्वपूर्ण कुरा भएकाले हामीलाई यसलाई प्रयोगात्मक गरेका हौं ।”
अहिले मत बदर हुने समस्या धेरै भएकाले विद्यार्थी जीवन देखि नै विद्यार्थीहरुलाई मतदान गर्न सिकाएमा मत बदर घट्न सक्ने भन्दै यो कार्य गरिएको उनको भनाई थियो । यसरी मतदान गर्न पाउँदा विद्यार्थीहरु पनि खुसी भएका छन् ।“हामीले किताबमा घोक्ने मात्रै हुन्थ्यो”, विद्यार्थी अनिशा रेग्मीले भनिन्“तर, हामीले अहिले प्रयोगात्मक नै गर्दा धेरै कुरा बुझिएको छ, ब्यबहारमा उतार्न सजिलो भएको छ ।” प्रयोगात्मक नै गरेपछि अब परीक्षामा पनि धेरै कुरा लेख्न सकिने भएको कक्षा ९ मा अध्ययनरत विनिता खड्काले बताए ।



लाइभदाङ । २९ कार्तिक २०७९, मंगलवार १९:०१ बजे