एमाले निकट विद्यार्थी संगठनका संयोजकले दले मेसुलाई कालोमोसो

डा. विनोद सिंह

दाङ
११ भदौ / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दाङका संयोजक सर्जन परियारसहितका युवाहरुले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह माथि कालोमोसो दलेका छन् ।

संयोजक परियारकी श्रीमतीलाई टाईफाईडको उपचारकालागि विहीबार प्रादेशिक अस्पतालमा लगिएको र अस्पतालमा कल्चर चेकजाँचको सेवा नभएपछि मेसु सिंहसंग विवाद सिर्जना भएको थियो । ‘उहाँ श्रीमतीलाई उपचारकालागि भनेर विहीबार अस्पताल आउनु भएको थियो, हामीसंग कल्चर सेवा थिएन’, डा. सिंहले भने‘ हिजो सामान्य छलफल भएको थियो, तर आज आएर कुनै छलफल, सम्वाद विनै मलाई मोसो दलेर जानुभयो ।’

आज दिउसो पौने २ बजेतिर सर्जनसहित आएका ४/५ जना युवाहरुले कार्यकक्षमै आएर मोसो दलेर भागेको डा. सिंहले बताए । ‘उहाँको भनाई अनुसार चाहि उहाँको श्रीमति भन्नु भएको थियो’, उनले भने‘ तर उहाँले बुढो मान्छे समाएर ल्याउनु भएको थियो, यो हेर्दा नियोजित, कसैबाट परिचालित हो जस्तो देखिन्छ ।’

विरामीको कार्डमा डाक्टरले ब्लड कल्चर गर्नुपर्छ भनी लेखेको तर, त्यो सेवा अस्पतालमा नभएको भनि आफूले जवाफ दिदा यस्तो अबस्था आएको डा. सिंहको भनाई थियो ।

अहिले अस्पतालमा कल्चर सेवा छैन । त्यसकालागि छुट्टै कोठा आबश्यक पर्ने र माइक्रोवायोलोजिष्टको आबश्यक पर्ने अस्पतालको ल्याबमा कार्यरत कर्मचारी जीवन खड्काले बताए । त्यो सामान्य किसिमको ल्याबमा नहुँने उनले बताए । प्राय ः ५० सैयाको अस्पतालमा त्यो सेवा उपलब्ध नहुँने उनको भनाई छ ।

परियारसहित, गणेश खड्का, दिवस क्षेत्रीसहितका टोलीले कालोमोसो दलेका थिए ।

साथै डा.सिंहले दोषीमाथि कानुन अनुसार कारवाहीको माग गरेका छन् । यस्ता क्रियाकलापले डाक्टरहरु असुरक्षित हुने तथा काम गर्ने वातावरण पनि नहुँने भधएकाले यस विषयमा सबै गम्भीर हुनुपर्ने उनको भनाई छ ।

दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताएका छन् । उनले अस्पतालमा यस्ता खालका अराजक प्रबृतिले चिकित्सक तथा कर्मचारीहरुमा नकारात्म प्रभाब पार्ने भन्दै गम्भीर भएर अनुसन्धानमा लाग्ने समेत बताए ।


साथै घटना पछि अस्पताल पुगेका नेकपा एमाले दाङका जिल्ला सचिब मनोहर बुढाथोकीले परियारलाई पार्टीले कारवाही गर्ने बताएका थिए । उनले अस्पतालका कर्मचारीले गरेको आन्दोलनमा पनि एकेबद्धजना जनाउने बताएका थिए ।

सेवा बन्द गर्ने चेतावनी
त्यो घटनापछि अस्पताल विकाससमितसहित सम्बन्धित संगठनहरुको बैठकले दोषीप्रति कडाभन्दा कडा कारवाहीको माग गरेको छ । यदि शनिबार विहान ९ बजेसम्म दोषिमाथि कारवाही नगरे अस्पतालको इमरजेन्सी, सुत्केरी, डायलासिसलगायत अतिआबश्यक सेवा बाहेक अन्य सेवा ठप्प पार्ने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए ।

अहिले ५० बेडको अस्पताल भएपनि विरामीहरुकै सेवाकालागि ९५ बेडको अस्पताल सञ्चालन गर्दा जनशक्ति तथा पूर्वाधारको अभाबमा पनि सेवा दिनुपर्ने अबस्था रहेको उनले बताए ।

यसरी सेवा प्रवाह गर्दा पनि बिभिन्न क्षेत्रबाट हुने यस्ता घृणित हर्कतले स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा कार्यरत चिकित्सकहरुलाई हतोत्साहित बनाएको बताए ।

माओवादी केन्द्रद्वारा दोषीलाई कारवाहीको माग

यस्तै घटनाप्रति माओवादी केन्द्र दाङले गम्भीर ध्यानाकर्षण गराएको छ । जिल्ला पार्टी सचिब सुवास पुनले विज्ञप्ति जारी गरि दोषीलाई कारवाहीको माग गरेका थिए ।

त्यस्तै अस्पतालमा कर्मचारीले गरेको आन्दोलनप्रति पार्टीले एक्यबद्धता जनाउने समेत बताएका छन् । त्यस्तै नगर पार्टी तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीले पनि एक विज्ञप्ति जारी गरि घटनाप्रति भ्रत्सनागर्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।