विदेशबाट फर्केकाहरू बने पशु प्राविधिक

दाङ, २२ कात्तिक ।
दाङको दंगीशरण गाउँपालिका वडा नं.२ सरूवाडाँडा निवासी देविराम चौधरी रोजगारको सिलसिलामा ३ बर्ष मलेसिया बसे । उनी त्यहाँ ‘फ्याक्ट्री वर्कर’का रूपमा कार्यरत थिए । मलेसियामा १२ घण्टा काम गर्नुपथ्र्यो । तर, अहिले उनी गाउँमा फर्किएर पशु प्राविधिक भएका छन् । उनले पशुपंक्षीमा लागेको रोगको पहिचान गर्नेदेखि त्यसको उपचार गर्ने गरेका छन् । “मैले पशुसम्बन्धी लागेका रोग पत्ता लगाउने र त्यो अनुसार उपचार गर्न सक्ने भएको छु”,उनले भने“गाउँमा कसैका पशुपंक्षी बिरामी परेमा घरमै पुगेर उपचार गर्ने गरेको छु ।”

त्यस्तै बबई गाउँपालिका वडा नं. ६ निवासी डम्बर कुमारी बुढाथोकी पनि विदेश भन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ, भन्ने पशु प्राविधिक बनेका छन् । २०६४ सालमा विदेश गएर उनी ३२ महिना त्यतै बसिन् । ‘हाउस वर्कर’ का रूपमा काम गरेकी उनी अहिले भने आफ्नै गाउँमा स्वाभिमानको पेशा गर्दैछिन् । घर परिवारसंग पनि टाढा हुनु नपर्ने र गाउँमै पनि सीप सिकेर स्वरोजगार भएपछि खुसी लागेको उनी बताउछिन् ।‘महिला मान्छे विदेश गएर कमाउनु कम्ता दुःख हुँदैनथ्यो, अर्कोको देशमा हाउस वर्कर हुँदा निकै कठीन हुने गथ्र्यो”,उनले भनिन्‘अहिले गाउँमै बसेकी छु, गाउँमै सेवा गर्न पाएकी छु, सबैले सम्मान गर्ने पेशा गर्न पाउँदा खुसी छु ।”

उनले सिकेको पशु प्राविधिक तालिम आफ्ना छोराछोरीहरूलाई पनि सिकाउने गरेको बताईन् । मलेसियामै आगोमा काम गर्नुपर्ने स्थितिबाट गुर्जिएका बबई गाउँपालिका ७ का मोहन बहादुर भण्डारी पनि अहिले पशु प्राविधिक छन् । अहिले उनको साथमा पशुलाई ज्वरो नाप्ने थर्मोमिटर हुन्छ ।

पशुलाई आवश्यक औषधी पनि साथमै राखेर हिड्ने गरेका छन् ।“गाउँमा कसैले पशुलाई केही समस्या भयो भनेर खबर गरे तुरून्त दौडिएर पुग्छु”,उनले भने“पशु प्राविधिक सीप सिकेपछि गाउँमा सेवा र स्वरोजगार भएको छ ।” उनीहरू जस्तै विदेशबाट फर्केकाहरूलाई स्वरोजगार बनाउनका लागि ‘सामुदायिक पशु सेवा सहायक’ तालीम प्रदान गरेपछि धेरै जना गाउँमै स्वरोजगार बनेका छन् ।


दाङका ७ वटा स्थानीय तहमा यो तालीम भएको हो । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दंगीशरण, बबई, शान्तिनगर, राप्ती र गढवा गाउँपालिकामा यस्तो तालीम भएको हो । तालीमबाट शान्तिनगर गाउँपालिकामा ३० जना र अन्य ६ पालिकामा २०/२० जना गरि एकसय ५० जनालाई दक्ष सामुदायिक पशु सेवा सहायक बनाईएको छ ।

दाङको तुलसीपुर स्थित राप्ती स्वर्गद्वारी रतननाथ प्राविधिक शिक्षालयको आयोजनामा उक्त तालीम प्रदान गरिएको हो । सोही तालीममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयोजन एवं ब्रिटिस काउन्सिलद्वारा व्यवस्थित दक्षता परियोजनाको सहयोग र युरोपेली युनियनको आर्थिक सहयोगमा सुरू भएको हो ।

तालीम एक महिनासम्म चलेको थियो । तालीम प्राप्त पछि सहभागिहरूलाई सिटिइभिटीद्वारा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिएको थापाले बताए । विदेशबाट फर्केकाहरूलाई रोजगार प्रदान गर्ने र गाउँ–गाउँमा पशु स्वास्थ्य सहायक उपलब्ध गराएर किसानलाई सहज बनाउने उद्देश्यले तालीम प्रदान गरिएको हो । साभारः अग्रिम साप्ताहिक