यसरी भयो दमारगाउँ हत्याकाण्ड

दाङ,  १९ कात्तिक ।
दाङका रोशनी महतरा र शरद आचार्य हत्या काण्ड बँदेल मार्न समुहबाट भएको तथ्य खुलेको छ । उनीहरु दुबैको शब स्थानीय जंगलको चिरोमा एकै ठाएँमा असोज ३० माटोले पुरेको अवस्थामा फेला परेको थियो ।

‘तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ बर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ बर्षीय शरद आचार्यको मृत्यु बंदेल मार्न थापेको बिद्युतिय धरापमा परेर भएको पुष्टि भयो,’ एक प्रहरी अधिकारीले भने ‘ त्यसबारे सकभर आजै र नभए भोलिसम्म पत्रकार सम्मेलन गरि जानकारी दिने छौं ।’

घटनामा संलग्न चार जना दमारगाउँका ब्यक्ति पक्राउ परेका छन् । घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पक्राउ परेकाहरुले करेन्टबाट उनीहरुको मृत्यु भइ सकेपछि बोरामा हालेर शब चिरोमा फालेको र फरुवाले माटो खनेर भाटेको स्वीकार गरि सकेका छन् ।

त्यसपछि उनीहरुले शब ब्यबस्थापनका लागि बोकेर लगेका बोराहरु उतै जलाएको प्रहरीलाई बताएका छन् ।

गाउँकै चार जना ब्यक्तिले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुली बत्तिको तार तानेर करेन्टको धराप बिच्छाएका थिए ।

सोही धरापमा परि रोशनी र शरदको मृत्यु भएको थियो । त्यसपछि घटना छिपाउन उनीहरुले ढुँगाले टाउको लगाएत शरिरका बिभिन्न भागमा आक्रमण गरि शब ब्यबस्थापन गरेको भन्ने खुलेको प्रहरीले बताएको छ ।


रोशनी र शरद आपसमा प्रेममा थिए । त्यही कारण उनीहरु एक अर्कालाई भेट्न असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए । त्यही क्रममा उनीहरुको बिद्युतिय धरापमा परेर एकै साथ मृत्यु भएको पक्राउ परेका चार जनाले बताएका छन् ।

पक्राउ परेकाहरुको प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जानकारी दिएको छ । यो संगै हेटौंडाका टिप्पर चालक सुवाश थिङ र दमारगाउँ माइती घर रहेका सल्यानका सुशील थापा निर्दोश साबित भएको प्रहरीले बताएको छ ।
यी दुई आपसमा मिल्ने साथी हुन ।

अघिल्लो दिन मात्रै उनीहरुले आपसमा फोन सेटहरु साटासाट गरेका थिए । त्यही सेटमा भएको फोन नम्बर गल्तिबस सुवाशले शरदकी माउली हजुरआमालाई डायल गरेको तथ्य खुलेको छ ।

तर, प्रहरीको त्रासका कारण उनले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आएका थिए । त्यही आधारमा प्रहरीले अनुसन्धान गर्दै आएको थियो । मुद्दा चलाउने तयारी गरेको थियो ।

अन्तिममा गाउँघरमै केही चर्चामा रहेका युवा र बयस्कहरुलाई निगरानीमा राखेको प्रहरीले आशंका लागेर सोधपुछ गर्दा उनीहरुको घटनामा संलग्नता पुष्टि भएको हो । त्यसपछि घटनाबारे तथ्य खुलेको हो ।