मुसिकोटमा स्यालको टोकाइबाट ९ जना घाइते

रुकुम, १६ कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट ९ जना घाइते भएका छन् । वडा नम्बर ४, ६ र १० नम्बर वडाका ९ जनालाई स्यालले टोकेको हो । स्यालको टोकाइबाट घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमार बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा र चक्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट १० का भुपेन्द्र बुढा रहनुभएको छ ।

घाइते मध्ये एक्कीकुमारीलाई स्यालले १४ गते साँझ टोकेको हो भने अन्यलाई १५ गते मंगलबार साँझ टोकेको मुसिकोट ६ का हिमबहादुर महताराले बताउनुभयो । स्यालले भेटिएका जति मान्छेलाई टोक्दै हिडेको उहाँको भनाइ छ । ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजा लगायतका ठाउँमा स्यालको विगविगी बढेको छ । स्यालले घरमै तथा बाटोमा हिड्ने मान्छेहरुलाई टोकिरहेको छ ।


घाइते मध्य एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत लगिएको छ, भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनिहरुलाई रेविज विरुद्धको खोप दिइएको छ । स्याललाई नियन्त्रणमा लिन सकिएको छैन् ।