शंकर केसी,
सल्यान, ५ कार्तिक ।
सल्यानको कपुरकोट गाउँपालिकाभित्र १८ वर्षसम्मका शारिरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार हुने भएको छ । गाउँपालिका र विकलांग मित्र समूह तथा अपांग बाल अस्पताल पुर्नस्थापना केन्द्र बनेपाको सहकार्यमा अपांगता भएका बालबालिकाको निःशुल्क उपचार हुने भएको हो ।
जसका लागि पाँच वर्षिय सम्झौता गरिएको छ । सम्झौता अनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्रका १८ वर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुर्नस्थापना,सहायक सामाग्री तथा कृत्रिम अंग उपलब्ध गराउने छ । यसका साथै नियमित अनुगमन तथा लक्षित समुह भित्रका नागरिकहरुको समग्र सामाजिकीकरणको लागि पनि क्रियाकलापहरु सञ्चालन हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए ।
अपांगता पहिचानको लागि स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविर सञ्चालन तथा जसको लागि आवश्यक प्रचार, औषधि, मेडिकल सामग्री, यातायातको व्यवस्था गाउँपालिकाले गर्ने छ । अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्रीहरु हात खुट्टा लगाएतका कृत्रिम अंगहरु, ह्वील चियर, वाकर, बैशाखी, काम्रो आदी सामग्री निःशुल्क नै उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
अपांगता भएका व्यक्तिहरुको संरक्षण, शशक्तिकरण र विकासका लागि यस प्रकारको सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । शल्यक्रिया आवश्यक पर्ने बालबालिकाको लागि अस्पतालमा लाग्ने निदानात्मक, शल्यक्रिया, औषधी, मेडिकल सामग्री, वेड तथा खाना वापत लाग्ने खर्चको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।
गाउँपालिकासंग सहकार्य गरेको विकलांग मित्र समूह तथा अपांग वाल अस्पताल पुर्नस्थापना केन्द्रले स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविर संचालनको लागि विशेषज्ञ लगायत मानव संसाधन, आवश्यक औषधि, मेडिकल सामग्रीहरु आदि उपलब्ध गराउने छ । केन्द्रले सहायक सामग्रीहरुको नाप जाँच र तयार लगाएतका अन्य विभिन्न काम पनि गर्ने केन्द्रका सिबिआर सुपरभाइजर होमराज केसीले जानकारि दिए ।
गत वर्ष पनि केन्द्रले कपुरकोट गाउँपालिकासंगको सहकार्यमा अपांगता भएका व्यक्तिहरुको उपचारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो । कपुरकोट गाउँपालिकामा मात्रै हाल तीन सयको हाराहारीमा अपांगता भएका व्यक्तिहरुको पहिचान भएको सुपरभाइजर केसीले जनाए ।
लाइभदाङ । ५ कार्तिक २०७९, शनिबार १४:१९ बजे