राजविद्यामा स्थानीय पाठ्यक्रम : घरेलु/सामाजिक सीप सिक्दै विद्यार्थी

दाङ, ३ कात्तिक ।
दाङका एक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम अन्तर्गत प्रयोगात्मक सीप सिकेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १८ मा स्थित राजविद्या पाठशालाका विद्यार्थीहरुले हिजो बुधबार स्थानीय पाठ्यक्रम अन्तर्गत रहेको विषयवस्तुलाई प्रयोगात्मक रुपमा सिकेका हुन् ।

कक्षा ६ र ७ का लागि विद्यालयले तयार पारेको ‘घरेलु/समाजिक सीप र कला’ विषयक पाठमा घरेलु /सामाजिक सीप कला केके रहन सक्छन् र त्यस्ता कार्य आयआर्जनको स्रोत पनि बन्न सक्छन् त ? भन्ने विषयमा अध्ययन गरिसकेपछि साल तथा मालुकाबाट पातबाट दुनाटपरी निर्माण गर्न सकिने र आयआर्जन गरिने भन्ने सिकाइलाई प्रयोगात्मक सिकाइ गरेका हुन् । घरेलु तथा सामाजिक सीप आयआर्जनका पाटो पनि रहन सक्छन्, भन्ने उद्देश्यका साथ प्रयोगात्मक सीप सिकाइएको विद्यालयले जनाएको छ ।

‘हामीले कक्षा कोठामा पढेका कुरालाई व्यवहारमा उतार्न पायौँ, शिक्षकको मद्दतबाट सक्यौँ र एउटा व्यवहारिक सिप सिक्न सक्यौँ । हाम्रा नजिकका वनजंगल तथा सामुदायिक वनमा पाइने सालका पातबाट दुनाटपरी निर्माण गरी घरायसी प्रयोगका साथै व्यावसायिक प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने रहेछ । ’ कक्षा ६ मा अध्ययनरत छात्रा भविष्का केसीले भनिन् ।

शिक्षकका सहयोगमा विद्यार्थीहरुले दुना टपरी निर्माण गर्ने सीप सिकेका थिए । ‘पहिला दुना लागि र टपरीका लागि पात कसरी गाँस्दै जाने भन्ने विषयमा विद्यार्थीलाई हामीले सिकायौँ, डेमो पनि देखायौँ अनि विद्यार्थीहरुले सजिलरी सिकिहाल्नुभयो ।’ शिक्षिका ममता पुनले बताइन् ।


‘पहिला त गाह्रो हुन्छ होला भन्ने लागेको थियो । घरमा आमा, हजुरआमाले तयार गरेको त देखेको थिएँ तर आफै तयार भने गरेको थिएनँ । दुनाटपरीबाट आयआर्जन हुन्छ भन्ने मात्र पढेनौँ हामीले दुनाटपरी कसरी बनाउने भन्ने पनि सिक्यौँ । यो सीप हो, यसलाई घरायसी तथा व्यावसायिक दुबै प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।’ कक्षा ७ की छात्रा सुवास्ना नेपालीले बताइन् ।

‘दुनाटपरी महिलाले मात्र निर्माण गर्ने भन्ने रहेनछ । पहिला त मलगायत मेरा केटा साथीहरु अचम्म पर्यौँ केटीले गर्ने काम हामीले कसरी गर्न सकौँला र भनेर । तर, सजिलैसँग सिकियो । काम कसले गर्ने भन्ने रहेनछ । जसल गर्दा पनि हुँदो रहेछ । यो स्थानीय पाठ्यक्रमको विषयवस्तु मात्र हो जस्तो लागेन हामीलाई यो त जीवनोपयोगी सीप पनि रहेछ, आयआर्जनको स्रोत पनि रहेछ ।’ कक्षा ६ का छात्र परीक्षित बुढाथोकीले बताए ।

अझै दाङको घोराही उपमहानगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण भइसकेको छैन । स्थानीय निकायबाट स्थानीय पाठ्यक्रम लागू नभइसकेको अवस्थामा विद्यालयले आफै स्थानीय पाठ्यक्रम निर्माण गरी प्रयोगमा ल्याएको छ ।