जिल्ला प्रशासनद्वारा बजार अनुगमन, म्याद सकिएका सामग्री बरामद

सल्यान, २ कार्तिक ।
चाडपर्वको समयमा उपभोक्ताहरु ठगिन सक्ने, म्याद नाघेका अखाद्य वस्तु विक्रि हुन सक्ने विषयलाई ध्यानमा राख्दै सल्यानका विभिन्न बजारहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्ला स्थित नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले बजार अनुगमन गरेको हो ।

हाल सम्म एक लाख ४६ हजार रुपैयाँ बराबरका म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार कपुरकोट, लुहाम र लान्ती बजार अनुगमन गरिएको सल्यान जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए ।

बुधबार मात्रै १८ वटा पसलमा अनुगमन भएको छ । सो क्रममा १६ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद गरिएको खड्काले बताउनुभयो । यस अघि जिल्लाका अन्य बजारहरुबाट एक लाख ३० हजार मुल्य बराबरको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ठ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारि दिए । जिल्लाको थारमारे, बागचौर, ढोरचौर, श्रीनगर, सल्लीबजार लगाएतका बजार अनुगमन गरिएको थियो ।


अनुगमनको क्रममा अधिकांश पसलमा मुल्य सुची नराखेको, म्याद गुज्रेका सामग्री भेटिएको तथा धेरैले आफ्नो व्यवशाय नविकरण नगरेको पाइएको थियो । ‘विल लिने दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थीत नगरेको, सबै किसिमका साग्री एकै ठाउँ राखिएको तथा सरसफाईमा पनि ध्यान नदिएको पाइयो,’ खड्काले भने, ‘हामीले सम्बन्धीत निकायमा व्यवशाय दर्ता तथा नविकरण गर्न र अन्य आवश्यक सुझाव पनि दिएका छौँ ।’ अनुगमन टोलिले उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरेको थियो ।

बुधबारको अनुमगन टोलिमा कपुरकोट गाउँपालिकाका प्रशासन अधिकृत खगेन्द्र बहादुर शाही, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख कपिल त्रिपाठी, प्रहरी चौकी कपुरकोटका इन्चार्ज नेत्र बहादुर नेपाली, उद्योग वाणिज्य संघ सल्यानका सल्लाहकार रुपक बुढा, पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी लगाएत रहेका थिए ।

सामान लिने नागरिकलाई पनि सचेत हुन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कारवाही गरिने जनाएको छ । यस पटककै अनुगमनमा पनि केही पसललाई जरिवाना गरिएको कार्यालयले जनाएको छ । व्यवसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापको नियमन गर्नका लागि बजार अनुगमन गर्ने गरिन्छ ।