गुणस्तरहीन मिठाइ बिक्री बन्द गर्न माग

तुलसीपुर, १ कात्तिक ।
चाडपर्व नजिकिएसंगै बजारमा बिक्री वितरण हुने गुणस्तरहीन मिठाइ बन्द गर्न माग गरिएको छ । तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको नेतृत्वमा नगरप्रमुख टीकाराम खड्कालाई ज्ञापनपत्र बुझाउँदै बजारको अनुगमन गरेर तत्काल त्यस्ता मिठाई बिक्री वितरण बन्द गर्न र बिक्री वितरण गर्नेलाई कार्वाहीको दायरमा ल्याउन समेत आग्रह गरिएको हो ।

मापदण्ड विपरित बजारमा खुल्ला रुपमा बिक्री वितरण गरिने गुणस्तरहीन मिठाईका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएकाले कार्वाहीको दायरामा ल्याउनुपर्ने होटेल व्यवसायी समितिअन्तर्गत रहेको मिठाई व्यवसायी उपसमितिका संयोजक प्रवेश वलीले बताउनुभयो ।


नगरप्रमुख टीकाराम खड्काले तत्काल उपभोक्ता हित संरक्षण शाखाबाट बजार अनुगमन गरेर कार्वाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले बजारमा गुणस्तरहीन मिठाई दर्ता नभएका व्यक्ति पसलबाट बिक्री भएको अवस्थामा अनुगमनका क्रममा फेला परे कार्वाही गरिने बताउनुभयो ।