दीपक बोहरा
दाङ, ३१ असोज /
दाङको तुलसीपुरमा एउटै खाडलमा भेटिएका किशोर–किशोरीको हत्याका विषयमा अनुसन्धान गर्न प्रहरीले शंकास्पद ब्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ । तर, सन्तोषजनक प्रगति हुन सकेको छैन । प्रहरीले अनुसन्धानको काम गरिरहेपनि अझै घटनाको विषयमा तथ्य पत्ता लाग्न सकेको छैन ।
अनुसन्धानकै लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतम पनि तुलसीपुरमै छन् । अनुसन्धान जारी रहेपनि अझै पनि सोचे अनुरुपको प्रगति हाँसिल गर्न नसकिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।‘सोँचे अनुरुप प्रगति हाँसिल गर्न सकिएको छैन, हामी अनुसन्धान मै छौं’,उनले भने‘अझै चित्त बुझ्दो हुन सकेको छैन ।’
पीडितहरु अहिले पीडामा रहेकाले धेरै कुरा बोल्न नमानिरहेकाले पनि उनीहरुको सम्बन्धका बारेमा धेरै कुरा आउन नसकेको उनले बताए । अहिले शंकास्पद ब्यक्तीहरुलाई सोधपुछ गरिरहेको भएपनि अझै त्यसको नजिकसम्म पुग्न सकिएको अबस्था नरहेको डीएसपी गौतमले बताए । ति केटाकेटीको आनीबानी बुझ्न उनका साथीहरुलाई पनि सोधपुछ गरिएको प्रहरीले बताएको छ ।
उनका अनुसार अहिले दर्जनबढि ब्यक्तीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।‘सोधपुछको काम चलिरहेको छ, १०/१५ जना ब्यक्तीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं, बानीब्यहोरा बुझ्न उनीहरुका साथीहरुलाई पनि सोधपुछ ग¥यौं’,उनले भने‘तर, फाईनल यही हो, भनेर अझै भन्न सकिने अबस्था छैन ।’
कल डिटेल रिपोर्ट नआउँदासम्म यही हो भन्न नसकिने उनले बताए । केटा बेपत्ता भएपछि एक टिप्पर चालकले उनको हजुरआमालाई फोन गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । उनले दिएको बयानकै आधारमा अनुसन्धान भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ दमारगाउँ स्थित एक सामुदायिक बनमा
दंगीशरण गाउँपालिका वडा नं.६ थपगाउँ निवासी १५ बर्षीय शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँ निवासी रोशनी महतारालाई हत्या गरि एउटै खाडलमा गाडिएको अबस्थामा आईतबार दिउसो १२ बजेतिर फेला पारिएको थियो । उनीहरुको टाउकोमा चोट लागेको छ । टाउकोमा ढुंगा प्रहार भएको जस्तो देखिने डीएसपी गौतमको भनाई छ । तर, यो विषयमा पोष्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने उनको भनाई छ ।अझै पनि उनीहरुको पोष्टमार्टम हुन सकेको छैन ।
उनीहरु असोज २७ गते रातिदेखि परिवारको सम्पर्क विहीन बनेका थिए । केटाको शव तल र केटीको शव माथि राखेर गाडिएको थियो । उनीहरुबीच प्रेम सम्बन्ध रहेको स्रोतले बताएको छ ।
खाडल खनेर गाडिएको अबस्थामा फेला परेका उनीहरुको शब गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी पुगेर उनीहरुको शव निकालेर परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।
केटीको घर तुलसीपुर १३ स्थित डाँडागाउ हो । उनका आमा वुवा कमाउन भारत गएका थिए । घरमा दुई दिदी बहिनी बस्थे । त्यो दिन राति मोवाईलमा एक जना टिप्पर चालकले फोन गरको पाईएको थियो । अहिले ति टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछ जारी राखिएको प्रहरीको भनाई छ ।
केटा आचार्यको घर दंगीशरण ६ थपगाउँ हो । तर, उनी दमारगाउँ मावलीमा बस्दै आएका थिए । उनीहरु दुबै जना एउटै स्कुलमा पढ्थे । तुलसीपुर १३ स्थित अम्बापुर स्कुलमा आचार्य कक्षा ८ र महतारा कक्षा ९ मा अध्ययनरत थिए । उनीहरु हराएकै दिन राति १२ बजेतिर ‘बचाउ’ भन्ने आवाज आएको स्थानीयले बताएका छन् ।
लाइभदाङ । ३१ आश्विन २०७९, सोमबार १४:५४ बजे