कुमाले पेशा जोगाउने ‘दीपा’को प्रयास

तुलसीपुर, ३१ असोज ।
कुमाल समुदायका युवा पुस्ताले परम्परागत माटाका भाडा बनाउन छोडे भन्ने गुनासो आईरहदा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का युवाहरु भने माटोका भाडा बनाउन तर्फ सक्रिय हुन थालेका छन् ।

स्थानीय दीपा कुमालले माटाका भाडा बनाउने तालीम लिएपछि अहिले माटाका भाडा बनाउन थाल्नु भएको छ ।“यो पेशा हाम्रो पुर्खाले गर्दै आएको पेशा हो, यसमा हाम्रो पहिचान पनि जोडिएको छ”,उहाँले भन्नुभयो“त्यसैले हामीले यो पेशालाई जोगाउनु पर्छ ।”

विविएस दोस्रो बर्ष पढ्दै गर्नुभएकी उहाँले आफू माटाका भाडा बनाएरै जीवन पाल्न सक्ने बताउनुभयो । उहाँले पुर्खाले गर्दै आएको पेशालाई जोगाउन युवाहरु सक्रिय हुनुपर्ने बताउनुभयो । पेशा जोगाउन सबै युवाहरु सक्रिय हुनुपर्ने उहाँ बताउनुहुन्छ ।“हामीले नगरे यो पेशा लोप हुन्छ”,उहाँले भन्नुभयो“त्यसैले यो पेशालाई जोगाउन सबै एकजुट हुनुपर्छ ।”


त्यहाँ कुमाल अगुवाहरु पनि यो पेशा जोगाउन चिन्तित देखिन्छन् । ६०÷७० घर रहेको कुमाल समुदायमध्ये अहिले १०÷११ जनाले मात्रै माटाका भाडा बनाएर बेच्ने गर्छन् । त्यसैले यो पेशा लोप हुने खतरालाई कम गर्नकालागि युवा पुस्तालाई तालीम दिन थालिएको अगुवा प्रेम कुमालले बताउनुभयो ।“युवाहरुले यो पेशामा चासो नदेखाएपछि हामीले तालीम दिने तयारी पनि गरेका छौं”,उहाँले भन्नुभयो“तालीम दिएर उनीहरुलाई ब्यबसायीक रुपमा अगाडी बढाउने हाम्रो लक्ष्य छ ।”

अहिले माटाका भाडाको माग पनि बढि छ । तर, जनशक्ति नहुँदा भनेजति उत्पादन गर्न नसकिएको समेत उहाँको भनाई छ । बजारमा मट्का चिया पसलहरु पनि धेरै खुलेकाले मट्का चियाकालागि कपको माग अत्याधिक हुने गरेको छ । पछिल्लो माग अनुसार प्लेट, कपहरु पु¥याउनै गाह्रो हुने गरेको छ ।

नयाँ पुस्ता पनि माटोका भाडा बनाउने तर्फ चासो दिनुपर्ने कबिराम कुमालले बताउनुभयो ।“माग धेरै छ, हामी पहिले देखि गर्दै आएका बुढापाखाले यो पेशा अंगालीरहेका छौं, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा शंकट पर्ने हो की भन्ने चिन्ता छ”,उहाँले भन्नुभयो“तर, केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।”

नयाँ युवा युवतिहरुलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्ने समेत तयारी गरेको उहाँको भनाई छ । अहिले दैनिक एक जनाले करिब एकसय कप निर्माण गर्दै आएका छन् ।