अमेरिका जान भनेर हिँडेका दाङको युवकको भारतमा मृत्यु

दाङ, ११ असोज ।
अमेरिका जान भनेर एक महिना पहिले घरबाट हिँडेका दाङका एक युवकको भारतमा मृत्यु भएको छ। दंगीशरण गाउँपालिका वडा नं. ६ राजपुरका २६ वर्षीय विनोद साहुको सोमबार उपचारका क्रममा दिल्लीमा मृत्यु भएको खबर आफूले पाएको वडाध्यक्ष रोशनजंग शाहले बताए।

फुपाजु उत्तमबहादुर वलीले विनोदको डेंगीका कारण सोमबार बिहान ५ बजेतिर मृत्यु भएको खबर आएको बताए। अहिले शव घरतर्फ ल्याउन थालिएको उनले बताए । ‘अहिले म नेपालगञ्ज बोर्डरमा शव कुरेर बसेको छु,’ वलीले भने, ‘यो दशैं कस्तो दशा बनेर बल्झिदियो।’

वलीका अनुसार करिब एक महिना पहिला विनोद अमेरिका जान भनेर घरबाट हिँडेका थिए। विनोद भारत हुँदै गैरकानुनी रूपमा अमेरिका जान थालेका थिए।

झन्डै १०/१२ दिनदेखि भतिजालाई ज्वरो आइरहेको रहेछ,’ वलीले भने, ‘उनी औषधि खाँदै बसेछन् र हिजो बेलुका अलि गाह्रो भएपछि बल्ल अस्पताल लगिएको रहेछ।’

अस्पताल लगेर २०/२२ वटा स्लाइन चढाए पनि बचाउन सम्भव नभएको भनेर सँगै रहेका साथीहरूले खबर गरेको वलीले बताए। सँगै रहेका विनोदकै साथी र अमेरिका पठाउने व्यक्तिहरूकै सहयोगमा शव नेपालतर्फ ल्याइरहेको वलीले बताए।


‘मैले सुनेको भतिजालाई अमेरिका पठाउन हालसम्म ४० देखि ४५ लाख खर्च भइसकेको छ रे,’ वलीले भने, ‘बाँकी कुरा पठाउने व्यक्तिहरूलाई बुझेपछि थाहा होला।’

काकी नाता पर्ने लोकमाया बुढाथोकीका अनुसार विनोद अविवाहित हुन्। विनोदका दाजु सन्तोष रोजगारीको खोजीमा दुई महिना पहिलेमात्रै मलेसिया गएका थिए। उनीहरूका बुवा मंगलको केही वर्ष पहिले तुलसीपुरमै मोटरसाइकलको ठक्करबाट मृत्यु भएको उनले बताइन्।

‘विनोद मैले खेलाएको बच्चा हो,’ बुढाथोकीले भनिन्, ‘उसैको मृत्युको खबरले साह्रै मर्माहत तुल्याएको छ।’ विनोद कान्छी आमा र भाइ बहिनीसँगै घरमा बस्दै आएको उनले बताइन्। फुपाजु वलीका अनुसार शव सोमबार रातिसम्म घर आइपुग्ने जानकारी दिए।

पछिल्लो समय दाङ र आसपासका पहाडी जिल्लाबाट गैरकानुनी रूपमा छिमेकी देश भारत जाने युवाको ठूलो संख्या छ। त्यसरी अमेरिका सपना पछ्याउँदै जानेहरूबाट मानव तस्करले ४५ देखि ७५ लाखसम्म असुल्ने गरेका छन्। गैरकानुनी रूपमा त्यसरी जाने युवायुवतीमध्ये कतिपयको विभिन्न कारणले बाटोमै मृत्यु हुने गरेका खबर बेला बखत सार्वजनिक भइरहन्छन्।