दाङमा कस्तुरीको विना र चितुवाको छालासहित पाँचजना पक्राउ

दाङ
७ भदौ / दाङमा कस्तुरीको विना र चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरिएको छ । कस्तुरीको विना सहित दुईजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आईतबार अपरान्ह ४ बजेतिर घोराहीको होटल टुडे प्लाजामा कस्तुरीको विना विक्री गर्न लागेको अबस्थामका घोराही उपमहानरपालिका वडा नं. ७ निवासी ३३ बर्षीय मोहन बुढा र प्यूठान नगरपालिका वडा नं. १ निवासी २२ बर्षीय मदन केसीलाई पक्राउ गरिएको हो ।

३१ ग्राम २०० मिलिग्राम अबैद्य कस्तुरीको विना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए ।

त्यस्तै चितुवाको छालासहित तीन जनालाई पक्राउ गरिएको छ । बुधबार अपरान्ह सवा ४ बजेतिर कोहलपुरबाट लमही तर्फ जाँदै गरेको अबस्थामका लमही नगरपालिका वडा नं. ९ स्थित प्रहरी चेक पोष्टमा चेकजाँच गर्ने क्रममा चितुवाको छाला भेटिएको थियो ।


प्रहरीका अनुसार छालासहित बैतडी पाटन नगरपालिका वडा नं. ६ निवासी २० बर्षीय विमल औजी, सोही ठाउँका २८ बर्षीय प्रदिप कुमार विक, सोही ठाउँका २० बर्षीय हेमन्त औजीलाई पक्राउ गरिएको हो ।

विमल औजीले कोहलपुरदेखि चलाई ल्याएको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कार भित्र खोजतलास गर्दा ३ थान छालासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पुच्छरदेखि टाउकोसम्मको ७ फिट ६ इञ्च लम्बाई र अगाडीको खुट्टाको बीचको ४ फिट ७ इन्च भएको छाला एक थान, टाउकोदेखि पुच्छरसम्मको लम्बाई २ फिट ८ इन्च तथा पुच्छरदेखि टाउको सम्मको लम्बाई २ फिट भएको २ वटा साना गरि ३ थान छाला बरामद गरिएको हो ।