दीपक बाेहरा
दाङ, ६ असोज ।
तुलसीपुर उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा बनेका घर टहरा हटाउने भएको छ । उपमहानगरपालिकाको तेस्रो कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । उपमहानगरपालिकाको जग्गामा अनाधिकृत रुपमा घर टहरा निर्माण गरी बसेका ब्यक्तीहरुकालागि ३५ दिने सूचना प्रकाशित गर्ने निर्णय भएको हो ।
उपमहानगरपालिकाको जग्गा मिचेर बिभिन्न ब्यक्तीहरुले घर टहरा बनाएका छन् । तुलसीपुर उपमहानगरको कार्यालय रहेको कित्ता नम्बर ८१२ को जग्गा समेत मिचिएको छ । त्यस्तै वडा नम्बर ५ ‘ख’ मा रहेको कित्ता नम्बर ५४५ को तीन कट्ठा जग्गामा पक्की घर निर्माण भएको छ, त्यस्तै कित्ता नं.५४४ मा पर्ने एक बिघा १० कट्ठा १४ धुर जग्गामध्ये तुलसीपुर उपमहानगरपालिकाले १० कट्ठा मात्रै भोगचलन गर्दै आएको छ, बाँकी जग्गा अतिक्रमणमा परेको छ ।
यस्तै वडा नम्बर ५ ‘ख’ को उपमहानगरपालिकाको नाममा रहेको २ बिघा ८ कठ्ठा १६ धुर जग्गा व्यक्तिको कब्जामा रहेको उपमहानगरपालिकाले जनाएको छ । साथै उपमहानगरपालिका क्षेत्र भित्रका ऐलानी तथा प्रति जग्गाहरुमा बसोबास तथा उपभोग गर्दै आएकाहरुलाई करको दायरामा ल्याउने भएको छ । त्यसकालागि वडालाई जिम्मा दिने निर्णय गरिएको छ ।
उपमहानगरपालिकाबाट बाटो, विजुलीबत्ति, खानेपानी, टेलिफोन, स्वास्थ्य,शिक्षा शान्ति सुरक्षा लगायतका सेवाहरु उपलब्ध गराईएको भन्दै उनीहरुलाई करको दायरामा ल्याउने निर्णय गरिएको हो । साथै सवारी साधन परिचालन तथा ब्यबस्थापन गर्न बनेको कार्यबिधि २०७९ लाई स्वीकृति गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले स्थानीय तह स्तरीय भूमिहीन तथा अब्यबस्थित बसोबासी ब्यबस्थापन सहजीकरण समिति पनि गठन गरेको छ । त्यस्तै उपमहानगरपालिकाले नगर युवा परिषदको कार्यकारी उपाध्यक्षमा रविन्द्र डाँगीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
लाइभदाङ । ५ आश्विन २०७९, बुधबार १७:३७ बजे