स्वस्थ जीवनको लागि योग अत्यन्तै आवश्यक – उपप्रमुख योगी

देउखुरी, ८ असार ।
दाङ -बाह्रौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दाङको लमहीमा विशेष योग कार्यक्रम सम्पन्न भएको छ । पतञ्जली योग नगर समिति लमहीको आयोजनामा सम्पन्न कार्यक्रममा योग साधक, स्वास्थ्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले योगले मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले ूजसले गर्छ योग, त्यो मान्छे बन्छ निरोगू भन्ने नारालाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्दै स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू कुनै हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

उपप्रमुख योगीले बदलिँदो जीवनशैली, असन्तुलित खानपान, अनियमित निद्रा, शारीरिक गतिविधिको कमी तथा मानसिक तनावका कारण विभिन्न रोगहरू बढ्दै गएको उल्लेख गर्दै दैनिक जीवनमा योगलाई समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले नियमित योग अभ्यासले मानिसलाई स्वस्थ, ऊर्जावान र सकारात्मक बनाउने बताउनुभयो ।

कार्यक्रममा सहभागी योग प्रशिक्षकहरूले योगका विविध आसन, प्राणायाम तथा ध्यान अभ्यास प्रदर्शन गरेका थिए । उनीहरूले योग शारीरिक व्यायाम मात्र नभई सम्पूर्ण जीवनशैलीलाई सन्तुलित बनाउने वैज्ञानिक विधि भएको बताएका थिए ।

विशेषज्ञहरूका अनुसार नियमित योग अभ्यासबाट शरीर लचिलो र बलियो बन्नुका साथै रक्तसञ्चार प्रणाली सुधार हुन्छ । योगले मुटुसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा अन्य दीर्घरोगहरूको जोखिम कम गर्न सहयोग पुर्‍याउँछ । यसका अतिरिक्त योगले फोक्सोको क्षमता वृद्धि गर्ने, पाचन प्रणालीलाई सुदृढ बनाउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ ।


मानसिक स्वास्थ्यका दृष्टिले पनि योग अत्यन्त लाभदायी मानिन्छ । नियमित योग र ध्यानले तनाव, चिन्ता तथा अवसाद कम गर्न मद्दत गर्छ । योग अभ्यासले मनलाई शान्त, एकाग्र र सकारात्मक बनाउने भएकाले विद्यार्थी, कर्मचारी, व्यवसायी तथा ज्येष्ठ नागरिक सबैका लागि उपयोगी रहेको प्रशिक्षकहरूले बताएका छन ।

आजको व्यस्त जीवनशैलीमा अधिकांश मानिस विभिन्न मानसिक र शारीरिक समस्याबाट पीडित भइरहेका बेला योग एउटा प्राकृतिक उपचार पद्धतिको रूपमा स्थापित हुँदै गएको छ । औषधिमा निर्भरता कम गर्दै स्वस्थ जीवनशैली अपनाउन योग प्रभावकारी माध्यम बन्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

कार्यक्रममा दर्जनौँ योग साधकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय योग दिवसले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो ।

हरेक दिन केही समय योगका लागि छुट्याउन सके शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र दीर्घकालीन स्वास्थ्य लाभ प्राप्त गर्न सकिने भन्दै कार्यक्रमका वक्ताहरूले सबै नागरिकलाई नियमित योग अभ्यास गर्न आग्रह गरेका छन ।