खुल्ला सीमाका कारण मानव बेचबिखन बढ्यो : नगरप्रमुख खड्का

तुलसीपुर, २० भदौ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले खुला सीमाका कारण मानव बेचबिखन बढेको बताउनुभएको छ । मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा वैदेशिक रोजगारबाट फर्किएका श्रमिक महिलाहरुको सामाजिक एकीकरण अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले खुला सीमानाका कारण भारत हुँदै विभिन्न देशमा गैह्र कानुनीरुपमा श्रम गर्न जानेक्रममा महिलाहरु बेचबिखनमा परिरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले वैदेशिक रोजगारमा जाने क्रममा सम्पूर्ण कुराको जानकारी लिएर मात्रै जान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – पालिकामामा समेत वैदेशिक रोजगार जानुपूर्व अपनाउनुपर्ने विधि प्रक्रियाका बारेमा जानकारी दिने व्यवस्था गरिएको छ,कम्तिमा एक पटक सूचना लिने काम गर्नुहोस् ।

उहाँले नेपालीमा एकै पटक धेरै कमाउने र उपभोक्तावादको असरले नेपालमा प्राप्त हुने अवसरलाई पछ्याउन नसक्दा सास्ती व्यहोर्नु परेको बताउनुभयो । उहाँले पालिकाबाट महिला उद्यमीहरुका लागि प्रोत्साहनका कार्यक्रम ल्याएकाले त्यससंग जोडिन आग्रह गर्नुभयो ।

उपप्रमुख स्यानी चौधरीले नेपालमै विभिन्न रोजगारीका अवसर हुने भएकाले त्यसलाई अनुसरण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक किरण गौतमले बेरोजगार नागरिकहरुका लागि एक सय दिने रोजगारी दिन सकिने र त्यसका लागि सम्बन्धित वडा कार्यालयमार्फत् विधि प्रक्रिया पु¥याएर जोडिन आग्रह गर्नुभयो । कार्यक्रममा श्रमिका लागि मात्रै बजेट विनियोजन गरिने भएकाले स्थानीय सरकारले श्रमिकका लागि आवश्यक पर्ने सामग्रीको प्रधन्ध गरिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्रतिवेदन तयार पार्नुहुने सुष्मा अधिकारीले बढ्दो बेरोजगारी,महंगी जीवनशैली,घरेलु हिंसा,गरिबी र आर्थिक अभावका कारण महिलाहरु बैदेशिक रोजगारमा जानुपर्ने बाध्य रहेको बताउनुभयो । उहाँले महिलाहरुका लागि उद्यमीशलताका लागि सरकारले बजेटको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बजारमा दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो हामीसंग आवश्यक जनशक्ति नै छैन, सबैलाई रोजगारि चाहियो भन्ने आवाज आउँछ तर बजारमा खोज्दा श्रमिक पाउँन कठिन छ । उहाँले १९ वटै वडामा पुगेर वैदेशिक रोजगारमा पुगेका महिलाहरुको तथ्यांक संकलन गरेर कृषि उद्यममा जोड्न आग्रह गर्नुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा सामाजिक शाखाका प्रमुख माया श्रेष्ठले समेत कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम सुष्मा मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।