घोराही–तुलसीपुर ४ लेन : ४ महिनामा ४ प्रतिशत प्रगती

दीपक बोहरा
दाङ, २० भदौ ।
घोराही–तुलसीपुर ४ लेनको कामले तिब्रता लिन सकेको छैन । पछिल्लो पटक श्रेष्ठ कम्पनीका रोशन श्रेष्ठले काम गरिरहेका छन् । सोही सडकमा पेटी ठेकेदारका रुपमा श्रेष्ठ आएको ७ औं ठेकेदार हुन् । उनले गएको बैशाखदेखि काम सुरु गरे । उनले काम सुरु गरेको ४ महिनासम्ममा ४ प्रतिशत मात्रै प्रगति देखिएको छ । चारलेन सडक आयोजना प्रमुख अर्जुन बमका अनुसार पछिल्लो समय रोशन श्रेष्ठले ठेक्का पाएको ४ महिनामा ४ प्रतिशत मात्रै प्रगति भएको देखिएको छ । यस अघिका ठेकेदारले ६ प्रतिशतमात्रै काम गरेका थिए, अहिले श्रेष्ठ आएपछि थप ४ प्रतिशत काम गरेर जम्मा १० प्रतिशत काम पूरा भएको उनले बताए ।

यो एकदमै न्यून प्रगति भएको प्रमुख बमले बताए ।‘पछिल्लो ठेकेदारको काम गर्ने जुन गति छ, यो गतिप्रति हामी कत्तिपनि सन्तुष्ट छैनौं’,उनले भने‘यो काम देखेर ठेक्का तोड्ने कुरा पनि नभएको होईन्, तर, बिभिन्न कानुनी अड्चन देखिन्छन् ।’

कामको गति शून्य देखिएपछि जिल्लाका सरोकारवालाले पनि ठेक्का तोड्ने निर्णय गरिसकेका छन् । दाङका प्रमुख जिल्ला अधिकारी हिरालल रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकारामख खड्का, घोराही उपमहानगरपालिकाकाका प्रमुख नरुलाल चौधरी, दाङका प्रहरी प्रमुख, यातायात ब्यबसायी, सम्बन्धित सरकारी कार्यालयका प्रमुखलगायतको सहभागितामा भएको बैठकले दशै अगाडी चारलेनबीचमा बनाएका खाल्डा पुर्नुपर्ने, डिसेम्बरसम्म ३० प्रतिशत काम सक्नु पर्ने, यदि नसके ठेक्का रद्द गर्ने निर्णय गरेको छ ।

चौथो पटक म्याद थपिदै
चारलेनको काम २०७५ माघ १४ गते सम्झौता भएर माघ २८ गतेदेखि काम सुरु भएको हो । सम्झौता भएको मितिले ३० महिनामा काम सक्नु पर्ने हो । २०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन् ।काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढि प्रगति हुन सकेन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएपनि सन्तोष जनक काम हुन सकेको छैन ।

अबको डिसेम्बरमा ३० प्रतिशत काम हुन नसकेमा त्यो ठेक्का नै रद्द गर्ने तयारी रहेको छ । अहिले डिसेम्बरसम्म म्याद थप्ने गरि प्रक्रिया अघि बढेको छ । यो बीचमा बिभिन्न सात जना ठेकेदारहरुले काम गरे । सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठकले पनि काम गरे ।तर, उनीहरुले पनि काम गर्न नसकेपछि अहिले रोशन श्रेष्ठले काम गरिहेका छन् । यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ । संगै काम सुरु भएको चन्द्रौडा–कृष्णनगर खण्डमा ८२ प्रतिशत प्रगति भएको छ ।

कतै दुई लेन, कतै ४ लेन
खास यो सडकको नाम लमही–घोराही–तुलसीपुर चारलेन हो ।तर, घोराहीको बबई खोला पुल देखि मात्रै चार लेनका काम हुने भएपछि घोराही–तुलसीपुर चार लेन भन्ने गरिन्छ । नेपाल सरकारले जम्मा लागतको भ्याटसहितको १३ प्रतिशत रकम भुक्तानी गर्ने गरि एक्जिम बैंक भारतले ऋण सहयोग गरेपछि घोराही तुलसीपुर सडक निर्माण कार्य सुरु भएको हो । बैंकको सर्त अनुसार भारतीय ठेकेदारले नेतृत्व गर्नुपर्ने, ५० प्रतिशत निर्माण सामग्री भारतबाटै ल्याउनुपर्छ । त्यसले गर्दा पनि काममा केही समस्या आउने गरेको आयोजना प्रमुख बमले बताए । खासमा घोराही–तुलसीपुर २८ं.९१ किलोमिटर स्तरबृद्धि गर्नुपर्ने छ । जसमा १४.४६ किलोमिटर चारलेन र १३.७३ किलोमिटर दुईलेन बन्ने छ ।

बबईखोलादेखि घोराहीसम्म ६.५३ किलोमिटरमा २ लेन बन्ने छ । त्यस्तै घोराहीदेखि थापा चोकसम्मको ४ किलोमिटरमा ४ लेन, थापाचोकदेखि नारायणपुुरसम्मको ३.५ किमिमिटरमा २ लेन, नारायपुरदेखि खैरासम्मको २.१ किलोमिटरमा ४ लेन बन्ने छ । त्यस्तै खैरादेखि दुधराससम्मको ३.७ किलोमिटरमा २ लेन र दुधरासदेखि तुलसीपुरसम्मको २.३१ किलोमितरमा ४ लेन बन्ने छ ।

सबै ठाउँमा ४ लेन बनाउनकालागि आफूहरुले पहल गरेको भएपनि त्यसले सार्थकता पाउन नसकेको उनले बताए । भारतको पनि अनुमति लिनु पर्ने र नेपालमा पनि मन्त्री परिषदको बैठकले निर्णय गर्नुपर्ने भएकाले झनझटिलो र ५० प्रतिशत भेरियसन हुने भएपछि त्यो प्रक्रिया अगाडी बढ्न नसकेको प्रमुख बलले बताए । उनका अनसार २ लेन भएको स्थानमा ११ मिटर चौडाई हुनेछ ।जसमा ७ मिटर सवारी चल्नकालागि र दुबै तिर २/२ मिटर मान्छे हिड्नकालागि निर्माण हुनेछ ।


त्यस्तै ४ लेन भएको स्थानमा २१ मिटर चौडाई हुनेछ । जसमा दुबै तिर ७/७ मिटर सवारी हिड्ने सडक हुनेछ, भने बीचमा २ मिटरको डिभाईडर हुनेछ । त्यस्तै दुबैतिर २/२ मितरको मान्छे हिड्ने बाटो निर्माण हुनेछ । उक्त सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैँया अमेरिकी डलर ( नेपालीमा १ अर्ब २३ करोड ) मा निर्माण हुन लागेको हो ।

सडक निर्माणमा कुनै अबरोध छैन
सडक निर्माणकालागि सबै क्षेत्रबाट सहयोग भएको छ । अलिकति विद्यूतको समस्या देखिएपछि त्यो बाहेक अन्य समस्या नभएको प्रमुख बमले बताए । उनका अनुसार त्यो बाहेक अरु समस्या केही छैन । काम गर्ने इच्छा भएमा कामले तिब्रता लिन सक्ने उनले बताए । अहिले निर्माण कम्पनीसंग १६ हजार घनमिटर ग्राबेल स्टक रहेको छ । रुख कटान भइसकेको छ । बन कार्यालयलाई त्यो हस्तान्तरणमा भने समस्या रहेको छ । अहिलेसम्म पनि त्यो रुख हस्तान्तरण गर्न सकिएको छैन ।

निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर शेखर शर्माका अनुसार ठूलो प्रोजक्ट भएपनि ५० जना भन्दा बढि कामदार नभएको उनले बताए । चारलेनकालागि हापुर, ग्वारखोला र सक्राम खोलाबाट मेट्रियल ल्याउन मिल्छ । तर, त्यहाँबाट ल्याउन नसकिएकाले समस्या भएको बताए । त्यसकालागि सहयोग आबश्यक रहेको उनको भनाई छ । त्यस्तै ढुंगा पनि पाउन सकिएको छैन ।

कहाँ राखियो काटिएका रुख
चारलेन निर्माणका क्रममा रुख काट्नकालागि जिल्ला बन कार्यालयले अनुमति दिएको थियो । सडक बीचमा पर्ने एकहजार दुईसय ७५ रुख काट्नुपर्ने भएपनि ७ सय ९० रुख काटिसकिएको छ । बाँकी ४८५ रुख काट्न बाँकी छ । तर, काटिएको रुख अहिलेसम्म पनि हस्तान्तरण हुन सकेको छैन । तर, ति रुख सोनापुर सिमेन्टको कब्जामा रहेको आयोजना प्रमुख बमले बताए । पहिलेका ठेकेदारले सिमेन्ट उद्योगमा दिनु पर्ने रकम नदिएपछि त्यो काठ उद्योगले दिन नमानेको प्रतिक्रिया दिए । अहिले त्यो काठको अबस्था कस्तो छ, भन्ने कुरा समेत आफूहरुलाई थाहा नभएको प्रमुख बमले बताए ।

२२ जनाको मृत्यु
त्यही सडक निर्माणका क्रममा रहेका खाल्डाखुल्डीका कारण दुर्घटना पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार २२ जनाको मृत्यु भएको छ, भने ६५ जना घाईते भएको छन् । आर्थिक बर्ष २०७७/०७८ मा २२ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने ३५ जना घाइते भएका छन् । त्यस्तै २०७८/०७९ मा ३४ वटा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ, भने ३९ जना घाईते भएका छन् । त्यस्तै चालुआर्थिक बर्षको पछिल्लो दुई महिनामा ४ जना घाइते भएका छन् । साभार : अग्रिम साप्ताहिक