सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा २ महिलाको मृत्यु

सल्यान, १४ भदौ ।
सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा कालिमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुनको मृत्यु भएको हो । दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो । अरू दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन् । घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार जारी छ ।


कालिमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर १० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

क्षमताभन्दा धेरै बढी यात्रु बोकेकाले अटोरिक्सा अनियन्त्रित भएर दुर्घटनामा परेको पूर्वानुमान गरिएको खनालले बताउनुभयो । घाइतेले भने उकालोमा अटोरिक्सा ब्याक भएका कारण दुर्घटनामा परेको बताएका छन् । अटोरिक्सा सडकदेखि करिब १०० मिटर तल खसेको छ ।