डायोलाईसिसमा पालो कुर्दाकुर्दै मृत्युको मुखसम्म..

दाङ,१३ भदौ ।
रुकुम भुमे गाउँपालिका-९ चुनवाङ निवासी ५५ बर्षीया तुलसी पुन ३ बर्ष अघि मिर्गौला पीडित थिइन् । उनका दुबै मिर्गौला फेल भएपछि नियमित डायोलाईसिस गर्दै आएकी थिइन । केही समय काठमाडौं डायोलाईसिस गरेपछि दाङका लमहीमा डायोलाइसिसकालागि आईन । उनको छोरीको घर पनि तुलसीपुर भएकाले तुलसीपुर ल्याउनकालागि पहल भयो । सोही अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २०७८ साल साउन १२ गते नाम दर्ता भयो । तर,  त्यो नाम दर्तामा मात्रै सीमित भयो । उनलाई तुलसीपुर ल्याउन सकिएन् । उनको लमहीमा उपचारकै क्रममा मृत्यु भयो ।

त्यस्तै रोल्पा त्रिवेनी गाउँपालिका वडा नं. २ निवासी २४ बर्षीय टोपेन्द्र बुढा मगरले पनि तुलसीपुरमा आएर डायलाईसिस गर्नकालागि नाम दर्ता गराए । २०७८ असारमा नाम दर्ता गराएपनि अहिलेसम्म पनि उनले पालो पाउन सकेका छैनन् । उनले अहिले काठमाडौंमा उपचार गराईरहेका छन् । त्यहाँ उनले मासिक ६ हजारको कोठा भाडा लिएर बसेका छन्, भने आवतजावत गर्दा पनि निकै खर्च हुने गरेको छ । अहिलेसम्म १० लाख भन्दा बढि खर्च भइसकेको छ । खर्च कम गर्न उनीहरुले तुलसीपुर आउन खोजेको भएपनि उहाँ आउनकालागि बेड खाली हुन सकेको अबस्था छैन् ।

त्यस्तै शान्तिनगर गाउँपालिका, दाङ निवासी २२ बर्षी प्रताप चौधरी पनि तुलसीपुर आउनकालागि २०७८ साउनमै नाम दता गराए । तर, उनले पनि पालो पाउन सकेका छैनन् । उनले अहिले लमही स्थित डायलाईसिस सेन्टरमा उपचार गराइरहेका छन् ।

पायक पर्ने ठाउँबाट सेवा पाउन धेरै संघर्ष गर्नुपर्छ । सल्यान शारदा नगरपालिका वडा नं. ७ कजेरी निवासी गीता खड्का यस अघि लमही स्थित डायलाईसिस सेन्टरमा थिइन । त्यसपछि घर भन्दा अलि नजिक र सहज हुन्छ, भनी तुलसीपुरमा आउन खोजीन तर, १ महिना पछि मात्रै प्रादेशिक अस्पताल तुलसीपुरको डायलाइसिसमा पालो आयो ।

त्यस्तै सल्यानकै मस्तबहादुर खड्काले पनि ५ महिना पछि मात्रै प्रादेशिक अस्पतालमा पालो पाए । त्यो भन्दा अघि उनी काठमाडौंम डायलाईसिस गर्दै आएका थिए । आउदा–जाँदा तथा काठमाडौं बस्दा महंगो खर्च हुने भएकाले तुलसीपुरमा सस्तो पर्ने भएकाले पनि उनी यहाँ आउन खोजेका थिए । मिर्गौलाको उपचारकै क्रममा १२/१५ लाख खर्च भएकाले अब जति सक्यो कम खर्च गर्न घर देखि नजिकै भए सहज हुने उनको भनाई थियो ।

यस्तै धेरै मिर्गौला पीडितले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन पाएका छैनन् । राप्ती प्रादेशिक अस्पतालमा ५ वटा मात्र डायोलाईसिस मेसिन चालु अबस्थामा छन् । त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि मात्रै ८ वटा मेसिन पठाएको छ । तर, त्यो जडान हुन सकेको छैन ।


जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायोलाईसिस प्रमुख लिना बडेलले बताईन् ।‘अहिले हामीसंग ५ वटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ’,उनले भनिन्‘अब थप आएका ८ वटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ । अहिले प्रादेशिक अस्पतालमा ८० जना विरामी पालो कुरिरहेका छन् ।

कर्मचारीको पनि त्यतिकै समस्या हुने गरेको डायलाइसिस विभाग प्रमुख लिना भडेलले बताईन । अहिले ४ जना स्टाफनर्स मात्रै भएकाले यसमा थप हुनुपर्ने बताइन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अहिले ५ वटा बेड मात्रै छन् । जसबाट २५ जनालाई सेवा दिन सकिएको छ । मन्त्रालयले केही दिन अघि मात्रै १० वटा डायोलाइसिस मेसिन पठाएकाले त्यो जडान भएपछि भने सहज हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए । उनका अनुसार अहिले ४० जनासम्म डायोलाईसिसको प्रतिक्षामा रहेको भन्दै नयाँ आएका मेसिन जडान भएपछि भने सबैले सहज सेवा पाउने उनको भनाई छ ।

त्यस्तै लमहीमा पनि अहिले करिब ८० जना डायोलाइसिसको प्रतिक्षामा छन् । अहिले २४ जनाको डायोलाइसिस गरिएको छ । ठाउँपनि आबश्यक पर्ने भएकाले थप मेसिन ल्याउन नसकिएको चिकित्सक डा. अबदुस बुथ खानले बताए । लमहीमा रोटरी क्लब अफ लमही र गौतमबुद्ध मुटुरोग अस्प्तालले उक्त डायोलाइसिस सेन्टर सञ्चालनमा ल्याएका हुन् । साभार : अग्रिम साप्ताहिक