रोल्पामा जीप दुर्घटना हुँदा खोलामा बेपत्ता चालक अझै भेटिएनन्

रोल्पा १२ भदौ ।

रोल्पामा शुक्रबार राति जीप दुर्घटना हुँदा खोलामा खसेर बेपत्ता भएका चालक अझै फेला परेका छैनन् ।

रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दुर्घटनामा चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादर लामा बेपत्ता भएका छन् ।

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको गरेको बा ७ च ५००२ नम्बरको जिप सडकबाट अन्दाजी १ सय मिटर तल माडी खोलामा खसेर दुर्घटना भएको थियो ।


नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता चालकको खोजी गरेपनि आइतवार बिहानसम्म फेला पार्न सकेको छैन । नेपाली सेनाको बटुक दल गणको टोली शनिबार नै सदरमुकाम लिबाङ फर्किएको र प्रहरीले अहिले पनि खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा जीपका सहचालक बैतडीको पाटन नगरपालिका–४ का २२ वर्षका मनोज चन्द घाइते भएका थिए । हाल उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार राति भएको दुर्घटनाबारे प्रहरीले शनिबार विहान मात्र जानकारी पाएको थियो । खोलामा खसेको जीप बटुकदल गणबाट सेनानी निराकार युद्ध खाँडको नेतृत्वमा १६ जनाको टोली घटनास्थल गएको थियो । पानीको वहाव वढेका कारण खोलाको पानीमा डुबेको उक्त जीप निकाल्न सकिएको थिएन ।