थुनुवा कैदी छुटाइदिने भन्दै घुस लिने पक्राउ

दाङ, १२ भदौ ।
प्रहरी हिरासतमा रहेका थुनुवा छुटाइदिने भन्दै घुस लिने एक जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ का प्रतीक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाइदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिएको आरोपमा २० वर्षीय बस्नेतलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता गौतमले बताए। जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवाहरू छुटाइ दिने भन्दै अभिभावकसँग ५० हजार घुस लिने बस्नेतलाई प्रहरीले प्यूठानको बिजुवारबाट पक्राउ गरेको हो ।


सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहँदा सार्वजनिक अपराधमा सँगै हिरासतमा रहेका, चिनजान भएका साथीहरूबाट उनीहरुका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर आफू जिल्ला प्रहरी कार्यालय दाङको मुद्दा फाँटको व्यक्ति रहेको भन्दै नगद रकम दिएपछि छुटाइ दिने भनेर ५० हजार लिएको अनुसन्धानपछि खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा निमित्त प्रमुख रहेका गौतमले जानकारी दिए।

पक्राउ परेका बस्नेतको पृष्ठभूमि लागु औषध कारोबारसँग जोडिएको र प्रहरीले निगरानी गरिरहेको जनाएको छ। बस्नेतलाई प्रहरीले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेको भन्दै सार्वजनिक अपराधमा मुद्दा चलाएको थियो।

अभिभावकलाई बोलाएर जिप्रका नजिकैको होटलमा बसेर रकम लिई फरार भएका बस्नेतलाई शनिबार पक्राउ गरेको गौतमले बताए। पक्राउ परेका बस्नेतलाई आइतबार म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।