तुलसीपुर खानेपानीद्वार सांसद सुवेदीलाई स्वागत

दाङ, ११ साउन ।
प्रतिनिधि सभा सदस्य कमल सुवेदीले प्राकृतिक पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सोमबार तुलसीपुरमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुवेदीले जथाभावी भइरहेको नदीजन्य पदार्थको उत्खनन्‌का कारण पानीका मुहान तथा स्रोतहरू गम्भीर संकटमा पर्न थालेको बताउनुभयो ।

राजश्व संकलन गर्ने नाममा स्थानीय तहहरूले ढुंगा, गिट्टी र बालुवाको जथाभावी उत्खनन् गर्न छुट दिने गरेको उल्लेख गर्दै उहाँले यसले खानेपानीको दीर्घकालीन सुरक्षामा चुनौती थपेको धारणा व्यक्त गर्नुभयो ।

दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सुवेदीले तुलसीपुरमा खानेपानीको दिगो व्यवस्थापनका लागि संघीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बढ्दो जनसंख्यालाई ध्यानमा राख्दै खानेपानीको माग धान्न बबई लिफ्टिङ आयोजनाले निर्णायक भूमिका खेल्नेछ ।’ उहाँले भन्नुभयो–‘खानेपानी सम्बन्धी जुनसुकै आवश्यक आयोजनामा पर्याप्त बजेट र लगानी सुनिश्चित गर्न संघीय सरकार पछि पर्दैन ।’


कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले खानेपानीका मुहान क्षेत्रमा हुने जथाभावी उत्खनन्‌लाई तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा मुहान क्षेत्रको प्राकृतिक स्वरूप बिग्रन नदिन र उत्खनन्‌मा कडाइ गर्नका लागि नीतिगत एवं व्यावहारिक पहल गरिदिन उहाँले सांसद सुवेदीसमक्ष आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता एवं सांसद कमल सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संस्थाका उपाध्यक्ष नारायण प्रसाद शर्माले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुवन भुषालले गर्नुभएको हो ।