जनपत्रकार संघ दाङका अध्यक्ष वलीसहित विप्लवका ८ कार्यकर्ता पक्राउ

तुलसीपुर,७ भदौ / दाङमा जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ८ जना विप्लव निकट नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार बन्दको क्रममा उच्छृङ्खल गतिबिधि गरेको भन्दै तुलसीपुरबाट ४ जना र घोराहीबाट ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुरबाट पत्रकार वलीसहित विप्लव निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन सेर्पाइली, उपाध्यक्ष दिपेन्द्र वली, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सदस्य सञ्जय वली पक्राउ परेका हुन् । बन्दको क्रममा टिप्पर चलाएको भन्दै बन्दकर्ताले टिप्पर रोकेका थिए । साथै टिप्परमा क्षमता भन्दा बढि लोड पनि राखिएको थियो । यही कुरालाई लिएर भएको विवाद पस्चात उनीहरुलाई पक्राउ गरिएको हो । तुलसीपुरबाट विहान साढे ७ बजेतिर नियन्त्रणमा लिईएको हो ।


त्यस्तै घोराहीबाट अखिल क्रान्तिकारी दाङका संयोजक खुमन पौडेल, जिल्ला सदस्यहिमाल केसी, टार्जन वली र प्रकाश बुढा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो । घोराहीमा टायर बालेर विरोध गरेको भन्दै पक्राउ गरिएको हो । साथै बन्दकर्ताले उच्छृङ्खल गतिबिधि गरेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

विप्लव निकट नेकपासहित ४ वटा कम्युनिष्ट पार्टीले सरकारले तीन बुँदे राजनीतिक सहमति विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाले मंगलबार बन्दको घोषणा गरेका छन् । साथै एमसीसी, भ्रष्टाचार, महंगीका विरुद्ध पनि बन्दको आह्वान गरिएको हो ।