
दाङ,२१ साउन / नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदिय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरु उब्जाएको बताएका छन् ।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनले प्रश्नको जावफ दिनुको साटो थप प्रश्न उठाएको उनले बताए । प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले भने, ‘छानबिन समिति जे प्रश्नको उत्तर दिन बनाइयो, त्यसको उत्तर दिन सकेन । बरु थप प्रश्नहरु जन्मायो ।’

उनले छानबिन समितिले घटनासँग सम्बन्धीत व्यक्तिहरुको फोन कल डिटेल, मोबाइल लोकेसन जस्ता कुराहरु हेर्नुपर्ने उनले बताए । ‘छानबिन समितिले फोन कल डिटेल, मोबाइल लोकेसन हेर्न किन चाहेन ? उहाँहरुले त्यसलाई किन रोक्नु भयो ? त्यहाँ निर प्रश्न छ ।’ उनले भने ।
उनले प्रतिपक्ष दल एमालले सुरुदेखि नै अर्थमन्त्रालयको सिसिटिभी फुटेज मागेको भएपनि त्यसलाई लुकाउँने प्रयास गरेको बताए । ‘दोस्रो दिनदेखि नै हामीले सिसि टिभी फुटेज देखाउन भन्यौं’ उनले भने, ‘तर १३ दिनमा आएर फुटेज नै मेटाइयो । हामीले प्रश्न गर्न साथ त्यसलाई मेटाउने काम भयो ।’
पूर्व सभामुख समेत रहेका नेम्वाङले संसदमा उठेका सबै प्रश्नको जवाफ अब जनताले नै दिने बताए । उनले मुलुकमा एमसीसी, एसपीपी, नागरिकता विधेयक, अर्थमन्त्री शर्माको प्रकरणका लगायतका प्रकरणबारे संसद र सरकारबाट जवाफ नआउँने बताए । ‘अब कुनै पनि प्रश्नको जवाफ संसद र सरकारबाट आउँदैन’ उनले भने, ‘मंसिर ४ गते चुनाव घोषणा भइसकेको छ । अब यी सबैकुराको जवाफ जनताले नै दिनेछन् ।’




लाइभदाङ । २१ श्रावण २०७९, शनिबार १२:२३ बजे