विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई पोशाक नि:शुल्क

दाङ, १६ साउन ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई नि:शुल्क पोशाक प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ को कार्यालयले विद्यालयमा भर्ना हुन आएका सवै नयाँ विद्यार्थीलाई पोशाक नि:शुल्क रुपमा दिएको विद्यालयमा प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो ।

चालु शैक्षिक बर्षमा विद्यालयमा भर्ना हुन आएका करिव २ सय नयाँ विद्यार्थीहरुलाई पोशाक नि:शुल्क रुपमा दिने ब्यवस्था वडा कार्यालयले गरेको वडा अध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । पोशाकको कपडा र सिलाई समेत गरी सरदर एक जना विद्यार्थीलाई एक हजार दुइ सय रुपैयाका दरले पोशाक वाापत सहयोग गरिएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।


यसैबिच आज विद्यालयमा एक कार्यक्रम गरी विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । वडा अध्यक्ष रमेशकुमार पाण्डे र विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले सम्युक्त रुपमा विद्यार्थीलाई पोशाक प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा वडा सदस्य माधव श्रेष्ठ, विद्यालयमा सहायक प्रधानाध्यापक प्रकाश डाँगी र दिपककुमार श्रेष्ठ लगायतकाले वडा कार्यालयले पोशाक नि:शुल्क रुपमा प्रदान गर्ने कार्यले विद्यार्थीहरुलाई सहयोग मिलेको बताउनु भएको थियो । सिलाएर तयार भइ आएका विद्यार्थीलाई पोशाक बितरण शुरु गरिएको र यो केहिदेखि जारी रहने विद्यालयले जनाएको छ ।