खोप लगाएपछि कुनै लक्षण नदेखिएमा भाइरसबाट सुरक्षित हुनु हो ?

दाङ, ३२ साउन ।
आवरवर्ल्ड इन डेटाको तथ्यांक अनुसार हालसम्म विश्वमा ३१.२ प्रतिशत जनसंख्याले कोभिड विरुद्धको खोप लगाइसकेका छन् । जसमा २३.५ प्रतिशतले पूर्णरुपमा खोप लगाएका छन् । त्यसैगरी निम्न आय भएका देशहरुमा १.२ प्रतिशत मानिसले कम्तीमा एक डोजको खोप लगाइसकेका छन् । कोभिडविरुद्धको खोप लगाएका लाखौं मानिसहरुले खोप प्राप्त गरेपछि विभिन्न प्रकारका लक्षणहरु महसुस गरेका छन् । जस्तै : खोप लगाएको ठाउँमा सुन्निने, रातो हुने अनि दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, थकान महसुस हुने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, चिलाउने आदि लक्षण धेरै मानिसमा देखिएको छ ।

यद्यपि कोभिड खोप पाएका सबैलाई उस्तै प्रकारका लक्षणहरु देखिन सक्छ भन्ने हुँदैन । धेरै मानिसमा खोप लगाएपछि कुनै पनि लक्षण देखिएको छैन । खोप लगाएपछि कुनै पनि प्रकारको लक्षण नदेखिनु वा साइड इफेक्ट नहुनु भनेको कोरोनाबाट सुरक्षित हुन्छ भन्ने हो त ?

खोपको साइड इफेक्ट र सुरक्षाबीच कुनै प्रत्यक्ष सम्बन्ध छैन 

नसभाइलमा रहेको भ्यान्डर बिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका संक्रामक रोगका प्राध्यापक डा. विलियम स्याफनरका अनुसार खोपको साइड इफेक्ट र सुरक्षा दुवैबीच कुनै प्रत्यक्ष सम्बन्ध छैन । साइड इफेक्ट हुनु र नहुनु प्रतिरक्षा प्रणालीको सम्बन्ध संकेत गर्दैन ।

फाइजर तथा मोर्डना खोपको प्रभावकारिता ९० प्रतिशत रहेको अध्ययनले देखाएका छन् । खोप लगाइएकामा १० प्रतिशतलाई आंशिक रुपमा सुरक्षा नदिन सक्छ । प्रा.डा. स्याफनरले क्यान्सर उपचार गराइरहेका, अंग प्रत्यारोपण गरेका र रोग प्रतिरोधात्मक क्षमता बढाने औषधि खाइरहेकालाई कोभिडविरुद्धको खोपको प्रभावकारितामा नकरात्मक असर पर्छ ।

एन्टिबडी परीक्षणले के बताउँछ ?

कोभिड विरुद्धको खोप पाएपछि आफूमा रोग प्रतिरोधात्मक क्षमता विकसित भयो कि भएन भनेर एन्टिबडी परीक्षणले देखाउन सक्छन् भनेर वैज्ञानिकले भनेका छन् ।


तर फुड एन्ड ड्रग एड्मिनिसट्रेसनले एक विज्ञप्तिमा के भनेको छ भने विशेषगरी कोभिडको खोप प्राप्त भएपछि गरिने एन्टिबडी परीक्षणलाई कुनै पनि व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता अथवा कोभिडबाट सुरक्षित भएको छु भनेर मूल्यांकन गरिनु हुँदैन । कोभिडविरुद्ध एन्टिबडी बनेको छ वा छैन हेर्न यो परीक्षण सर्वसूलभ देखिन्छ नै तर एन्टिबडी रिपोर्ट पोजेटिभ नै देखिएपनि उसलाई कोभिड हुँदैन भन्ने हुँदैन ।

मायो क्लिनिककी सेरोलोजी ल्याबोरेटरीकी संक्रामक रोगकी निर्देशक डा। एलिजा एस थिलका अनुसार कोभिडको रोग प्रतिरोधात्मक क्षमतामा ठोस सम्बन्ध बनिसकेको देखिएको छैन जुन अरु खोपबाट बचाउन मिल्ने रोगमा छ ।

सामान्तया फाइजर तथा मोर्डनाको दुई डोज खोप तथा जान्सेन खोपको एक डोज पाएको २ हप्तामा शरीरमा एन्टिबडी बन्छ तर त्यतिबेलासम्म पनि कोभिडको संक्रमण हुने सम्भावना रहन्छ ।

डा। थिल भन्छिन्,‘अहिले देखिएको कोरोना संक्रमण धेरैजसो खोप नलगाएका व्यक्तिहरुमा नै देखिइरहेको छ । जुन एकदमै दुस्खदायी कुरा हो । उनीहरुलाई खोप दिएमा त्यो अवस्थाबाट बचाउन सकिन्थ्यो । ’

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार खोप लगाएपश्चात आफूमा केही पनि लक्षण वा साइड इफेक्ट्स नदेखिएमा खोपले काम नै गर्दैन होला भनेर भ्रम पाल्नु हुन्न । डा। पुन भन्छन्, ‘कसैमा लक्षण देखिने र नदेखिने हुन्छ । खोपले काम गर्छ । कुनै औषधि पनि कसैलाई काम गर्छ वा गर्दैन । त्यो व्यक्तिपिच्छे फरक हुन्छ ।’

कोभिडको पूर्णरुपमा खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो हुने डा. पुनको सुझाव छ । ‘एन्टिबडी परीक्षण सबैले गर्नुपर्छ भन्ने होइन,पुन भन्छन्, ‘एउटा फाइदाचाहिँ के हुन्छ भने त्यो मान्छे ढुक्क हुने सम्भावना भने हुन्छ ।’ कोही दोधारमा छन् भने वा रोग प्रतिरोधात्मक क्षमता कम भएका अथवा रोग प्रतिरोधात्मक क्षमतालाई दबाइएका औषधि खाइएकाले भने परीक्षण गराउँदा राम्रै हुने डा. पुन बताउँछन् ।