शाखा प्रमुख आचार्यद्वारा जन्मदिनको अवसरमा आश्रमलाई आर्थिक सहयोग

तुल बहादुर कवँर मगर
सिसहनियाँ, १४ कार्तिक ।
जन्मदिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्ला दिनहरुमा व्यापक पाईन्छ । तर राप्ती गाउँपालिका–२ लालमटिया घर भई हाल दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा कार्यरत आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले भने फरक तरिकाले आफ्नो जन्म दिन मनाउनु भएको छ ।

आचार्यले आफ्नो ४० औं जन्मदिनको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममाको व्यवस्थाको लागि ५ हजार १ सय रुपैयाँ सहित फलफूल प्रदान गर्नु भएको हो। आचार्य जन्मदिनको अवसरमा सहयोग गर्न बुधबार बिहानै परिवारसँगै आश्रमा पुग्नु भएको थियो ।


फजुल खर्च भन्दा मानव सेवामा सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफुले जन्म दिनको अवसरमा आश्रमलाई उक्त रकम सहयोग गरेको आचार्यले बताउनुभयो ।

त्यस्तै आश्रमका कार्यवाहक अध्यक्ष गरिबु थारुले मानव सेवामा सहयोग गर्ने कार्य अति पुन्य कार्य भएकोे बताउँदै आगामी दिनमा अझै राष्ट्र र जनताको सेवा गर्ने सेवाभावको विकास हुँदै जाओस् भन्दै शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । आचार्यले विगतका वर्षहरूका जन्मदिनमा पनि विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आइरहनु भएको छ।