डोटी, २१ असार।
डोटीको बोगटान फुड्सिल गाउँपालिकाकी रिना (नाम परिवर्तन) लाई केही दिन पहिले एकाबिहानै ह्वाट्स एप म्यासेज आयो । एनसेलको ९८२३५९३९२७ नं. बाट आएको म्यासेजमा भनिएको थियो ‘तपाईंको मोबाइल नं.पाँच देशको इन्टरनेसनल कोभिड–१९ लक्की ड्र–२०२२ मा छनौट भएको छ । तपाईंको विजेता फाइल नं.११४४ रहेको छ । यदि तपाईं यो पुरस्कार लिन चाहानुहुन्छ भने हाम्रो हेड अफिसमा हाम्रो म्यानेजर आकाश बर्मालाई सम्पर्क गर्नुहोला ।’ सम्पर्क ह्वाट्स एपबाट मात्र गर्न भनिएको हुन्छ ।
रिनाले उक्त म्यासेज आफ्नो श्रीमानलाई देखाइन् । श्रीमान्–श्रीमतीको सल्लाहपछि रिनाले ह्वाट्स एप कल गरिन् । कलमा आफूलाई आकाश बर्मा बताउने व्यक्तिले फेरी बधाई दिए । रिनालाई दुईरतीन दिन लगातार ह्वाट्स एप कल आउँदै गयो । फोटाहरु, भिडियो क्लिपहरु पनि आए । पोष्टर, फोटो, भिडियो क्लिपहरु हेर्दा रिना दम्पत्तिलाई आफू विजेता भएको विश्वास लाग्यो । उनलाई फेरी फोन आयो, ‘तपाईंको रकम भुक्तानी हुने चरणमा पुगेको छ, तपाईंको बैंक खाता नं. तुरुन्त पठाउनुहोस् । तत्काल खातामा रकम आउँछ ।’
श्रीमान्–श्रीमतीले सल्लाह गरे, खाता नं. पठाए । एकछिनपछि फेरी फोन आउँछ, ‘तपाईंको मोबाइलमा म्यासेज आएको होला, त्यसमा ओटिपी नं. छ, त्यो हामीलाई पठाउनुहोस्, पैसा पठाउने प्रक्रिया सुरु भयो ।’ २५ लाख भारतीय रुपैयाँ अर्थात् ४० लाख नेपाली रुपैयाँ, कसको मन गद्गद् हुँदैन र उनले म्यासेजमा आएको ओटिपी नं.हतार हतार पठाइन् । एकछिनमै उनको खाताबाट ७५ हजार रुपैयाँ झिकिएको म्यासेज आयो।
रिनाका श्रीमान्–श्रीमतीलाई बल्ल थाहा हुन्छ आफूहरु लुटियौं भन्ने । उनले हत्त न पत्त आकाश भन्ने मान्छेलाई फोन गरिन् तर फोन उठेन । उनले जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी दिइन् । प्रहरीले उक्त जाहेरी संघीय प्रहरी इकाइमार्फत प्रहरी अपराध अनुसन्धान शाखामा पठायो । रिना त्यो दिनदेखि दिनहुँजसो फोन गर्छिन्, दिइएको नं. मा घन्टी जान्छ तर उठ्दैन ।
दिपायल सिलगढी नगरपालिकाकी पुष्पा (नाम परिवर्तन) को पनि यस्तै गति भयो । उनलाई भ्वाइस म्यासेज आयो । म्यासेजमा ४० लाख भारतीय रुपैयाँ लोटरी जितेको भन्दै बधाई आउँछ । उनलाई सो रकम लिनका लागि दुई लाख ५० हजार रुपैयाँ जम्मा गर्नु पर्ने शर्त राखिन्छ । ४० लाख भारतीय रुपैयाँ पाउने लोभमा पुष्पाले भने बमोजिमको रकम उनीहरुले उपलव्ध गराएको खातामा पठाइन् । तर म्यासेजमा लेखिए अनुसारको रकम पाएनन् ।
कैलालीका बिनोद (नाम परिवर्तन) लाई रिनाको जस्तै गरी ह्वाट्स एपमा म्यासेज आयो । बिनोदले आफन्तहरुसँग सो म्यासेजबारे छलफल गरे । उनका आफन्तले ह्वाट्स एपको केन्द्रीय कार्यालयलाई यो म्यासेजबारे इमेल लेखे । ह्वाट्स एपको केन्द्रीय कार्यालयले इमेलको रिप्लाई गर्दै भन्यो ‘यो सत्य होइन, यस्तो कुनै पनि प्रकारको लक्की ड्र छैन, भ्रममा नपर्नुहोला ।’ बिनोद ठगिनबाट जोगिए ।
अचेल दिनहुँजस्तो यस्ता ठगीका घटनाहरु भइरहेका छन् । कञ्चनपुरमा मात्रै यस्ता करीब ४० घटना आएको संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रहरी बरिष्ठ उपरीक्षक जनकराज पाण्डे बताउँछन् । लोभले ठगिएकाहरु पछि पैसा असुलीका लागि प्रहरीमा जाहेरी लगेर जान्छन् । जिल्लाबाट प्रहरीले केन्द्रीय अनुसन्धान व्यूरोलाई पत्र लेखेर पठाउँछ ।
छैन प्रभावकारी अनुसन्धान
अपराधका घटनाहरु बढ्दै जाँदा पनि छानबिन भने प्रभावकारी नभएको पीडितहरु बताउँछन् । ‘जुन फोनमा मेरो कुराकानी भएको थियो, त्यसमा अहिले पनि फोन लागिरहेको छ,’ रिना भन्छिन्, ‘प्रहरीले चाहे त्यसको लोकेसन पत्ता लगाउन सक्छ नि ’ उनी प्रहरीले त्यसो गर्न नचाहेको बताउँछिन् ।
आफूलाई प्रहरीको समेत मिलेमतो रहेको शंका लागेको बताउँछन् गत वर्ष यस्तै घटनाबाट तीन लाख रुपैयाँ गुमाएका डोटी आदर्श गाउँपालिकाका एक व्यक्ति । उनी भन्छन्, ‘उनीहरुले हामीलाई पठाएका पोष्टरहरुमा प्रहरीकै फोटा छन्, तर पनि प्रहरीले चासो दिएको छैन ।’ प्रहरीले उल्टो पीडितलाई हपार्ने गरेको आरोप उनले लगाए ।
यसमा एनसेलका नम्बरहरु प्रयोग हुनुले अपराधीहरु नेपालमै छन् भन्ने प्रष्ट भएको बताउँछन् कैलालीका बिनोद । उनी भन्छन्, ‘यति अपराधहरु भइरहँदा पनि एनसेलले ती नम्बरहरुलाई ब्लक नगर्नुले एनसेलप्रति पनि शंका लागेको छ ।’
यस्ता अपराधका घटनाबाट सर्वसाधारण भन्दा पनि जानेबुझेकै व्यक्तिहरु बढी ठगिने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोला भट्ट बताउँछन् । ‘अहिलेको जमानामा प्रविधिहरुको प्रयोग गरेर यस्ता धेरै अपराधहरु हुने गरेका छन्,’ भट्ट भन्छन्, ‘यसबाट सचेत रहनु जरुरी छ ।’
पोष्टरमा प्रहरीकै फोटो प्रयोग
ठगहरुले ‘मेगा प्राइज विनर फाइल’ लेखेर नक्कली पोष्टरसमेत बनाएका छन् । पोष्टरमा ‘स्पोन्सर’ भनेर दूरसञ्चार कम्पनीहरु हेलो नेपाल, युटीएल, स्मार्ट र एनसेलको लोगो प्रयोग गरिएको छ । जबकी नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयबाट हेलो नेपाल र युटीएलको सेवा हाल बन्द छ ।
त्यतिमात्र होइन, त्यो पोष्टरमा नेपालको राष्ट्रिय झण्डा, नेपाली हुलाक टिकट र नेपाल प्रहरीको पोशाक र दर्ज्यानी चिह्न भएको फोटोसमेत प्रयोग गरिएको छ ।
तर प्रहरीको फोटो प्रयोग हुनु ठूलो कुरा नभएको बताउँछन् संघीय प्रहरी इकाइका प्रहरी बरिष्ठ उपरीक्षक पाण्डे । उनी भन्छन्, ‘सामाजिक सञ्जालबाटै तानेर पनि दुरुपयोग गरेका हुन्छन्, त्यस्तै भएको होला ।’ उनले यो अपराधलाई प्रहरीले मात्रै नियन्त्रण गर्न नसक्ने बताए । उनले भने, ‘प्रहरीले, बैंकहरुले सन्देशहरु दिएकै छन्, सञ्चारमाध्यमबाट पनि सन्देशहरु आएकै छन्, तर पनि रोकिएको छैन ।’
लाइभदाङ । २१ असार २०७९, मंगलवार ०८:५२ बजे