दंगिशरण गाउँपालिकाले ल्यायो आगामी आर्थिक बर्षका लागि ४६ करोड ९४ लाखको बजेट

दाङ, ११ असार ।

दंगीशरण गाउँपालिकालले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम तथा आर्थिक विद्येयक २०७९ पारित गरेको छ । स्थानीय तहको दोश्रो निर्वाचन पछिको प्रथम गाउँसभाबाट शुक्रबार पारित भएको हो । गाउँ सभामा गाउँपालिका अध्यक्ष सम्भु गिरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो, भने आर्थिक विद्येयक २०७९ उपाध्यक्ष श्री पिमा कुमारी वली खड्काले प्रस्तुत गर्नुभएको थियो ।

दंगीशरण गाउँपालिको आफ्नो नीति तथा कार्यक्रम मार्फत कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी छोरी सम्मान, उज्यालो दंगीशरण, सबै क्षेत्रमा यातायातको पहुँच पु¥याउने लगाएतका विषयहरु नीतिमा समावेश गरिएको छ ।
गाउँपालिकाले पार गरेको आर्थिक विद्येयकमा केही करका दायराहरुमा हेरफेर समेत गरेको छ । गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रमको पूर्णपाठआदरणीय यस गरिमामय सभाका सदस्यज्यूहरु, नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्म शासन प्रणालीको व्यवस्थासँगै पहिलो ५ वर्षको स्थानीय सरकारको अभ्यास हामीले पुरा गरेका छौं । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामी विजयी भएर गाउँपालिकाको दोश्रो कार्यकालको लागि नेतृत्वमा आएका छौं । हामीलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुने सम्पूर्ण दंगीशरण वासीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

नेपाल राष्ट्रको रक्षा, सामाजिक, आर्थिक, राजनैतिक रुपान्तरण, बलिदान र आन्दोलनमा योगदान पु¥याई सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञान अज्ञात सहिदप्रति म भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जन चाहना अनुरुप नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने आधार स्तम्भको रुपमा रहने स्थानीय तहको निर्वाचनले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको जगलाई अझ मजबुत बनाएको छ । नयाँ जनादेश सहित स्थानीय तह गठन भएसँगै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद प्रति प्रतिबद्ध रही दिगो शान्ति, सुशासन, विकास र समृद्धिको चाहना पूरा गर्ने दिशातर्फ अग्रसर रहन थप सवल आधार हामीलाई प्राप्त भएको छ । नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४, स्थानीय तहको बार्षिक बजेट तथा योजना तर्जुमा दिग्दर्शन २०७८ ले दिएको अधिकार प्रयोग गर्दै संघीय र प्रादेशिक विषयगत नीति तथा योजनाहरु, नेपालको दिगो विकास लक्ष्यको अवस्था र मार्ग चित्र २०१६–२०३० को मार्गदर्शन तथा सार्वभौमसत्ता सम्पन्न जनता र ती जनताका निर्वाचित जनप्रतिनिधिहरुको हैसियतले दंगीशरण गाउँपालिकाको आ.ब. २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।

सभाका सदस्यज्यूहरु स्थानीय सरकारको पहिलो कार्यकालमा निवर्तमान जनप्रतिनिधिहरुले दंगीशरणलाई विकास र समृद्धिको यात्रामा निरन्तर अगाडि बढाउने प्रयास गर्नुभएको थियो । पहिलो कार्यकालमा भएका केही महत्वपूर्ण कामहरुलाई यो विशेष अवसरमा उच्च सम्मानकासाथ स्मरण गर्न चाहन्छु ।


जम्मा बजेट ४६ करोड ९४ लाख ३९ हजार, संघ सरकारको १७ करोड ७१ लाख मध्ये, चालू १३ करोड ३४ लाख, पुँजिगत ४ करोड ३७ लाख

प्रदेश सरकारको ३ करोड ६५ लाख मध्ये, चालु १ करोड ३५ लाख, पुँजिगत २ करोड ३० लाख

गाउँ पालिकाको २५ करोड ५८ लाख मध्ये, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ७ करोड ६५ लाख, बिकास खर्च १७ करोड ५८ लाख, प्रत्येक वडामा ५ लाख प्रशासनिक खर्च र ६० लाख बिकास खर्च गरि ६५ लाख

१. गाउँपालिकालाई आवश्यक पर्ने विभिन्न विषयका २९ वटा ऐन,४ वटा नियमावली, ४ वटा मापदण्ड, २८ वटा कार्यविधि र ९ वटा नीति निर्माण ।
२. गाउँपालिका तथा सबै वडा कार्यालय, सामुदायिक माध्यामिक विद्यालयमा सूचना प्रविधिको पहुँच, बहु उद्देश्यीय सभाहलको निर्माण, वडा नम्बर ४, ५ र ७ नम्बर वडाको कार्यालय भवन निर्माण सम्पन्न । गाउँपालिकाको प्रशासनिक भवन निर्माधिन ।
३. न्यायिक समितिमा आएका उजुरीहरुको मेलमिलापका माध्यामबाट न्याय सम्पादन गर्ने कार्यमा प्राथमिकता ।
४. मूल सडकबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे ।
५. योजनावद्ध विकासको प्रयास स्वरुप गाउँपालिका यातायात गुरुयोजना निर्माण ।
६. सर्वसुलभ आधुनिक भौतिक पूर्वाधारको निर्माण कार्यको शुरुवात ।
७. गाउँपालिकामा ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन, बागरमा १५ सैयाको अस्पतालको भवन निर्माणाधिन ।
८. सवैजसो विद्यालयहरुको न्युनतम भौतिक पूर्वाधार निर्माण, न्युनतम शिक्षकको व्यवस्था,वालीविज्ञानतर्फ प्राविधिक धारको विद्यालय सञ्चालन र नमूना विद्यालय विकास कार्यक्रमको सञ्चालन ।
९. सामुदायिक विद्यालयवाट एस ई ई उत्तिर्ण गरी सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने छात्र छात्रालाई छात्रवृतिको व्यवस्था ।
१०. गाँउपालिकाको समग्र तस्विर प्रतिविम्ब हुनेगरी म्ष्नष्तब िउचयाष्भि निर्माण ।
११. भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गाधनी लालपुर्जा वितरणको लागि सात वटै वडामा कन्ट्रोल प्वाइन्ट स्थापना,लगत संकलन तथा डाटा इन्ट्रीको काम सन्पन्न ।
१२. सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरको छाना रहेका २५१ घरपरिवारहरुलाई जस्तापाता वितरण, यसै कार्यक्रम अन्तर्गत जस्तापाता तथा काठ खरिदका लागि १७५ जनालाई अनुदान वितरण ।
१३. कोभिड १९ को महामारीबाट नागरिकको जीवनरक्षाका लागि अस्थायी कोभिड अस्पताल सञ्चालन ।
१४. वित्तीय शुसासनका लागि प्रगति विवरणको सार्वजनिकीकरण ।
१५. पर्यावरण संरक्षण र सिंचाइ सुविधाका लागि जलासय निर्माण । लिफ्ट सिंचाइ आयोजनाको निर्माण । साना ठूला गरी १२२ वटा सिंचाइ योजना सम्पन्न ।
१६. उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि कृषि तथा पशुका क्षेत्रमा अनुदानमा आधारित कार्यक्रम सञ्चालन, सीतभण्डार केन्द्र निर्माणाधिन ।
१७. खानेपानीको पहुँच अभिवृद्धिका लागि प्रदेश र स्थानीय सरकारको साझेदारीमा आयोजना सञ्चालन ।

सदस्यज्यूहरु
विगतमा लिइएका नीति, कार्यक्रम र वजेटबाट प्राप्त उपलब्धीहरुलाई सस्थागत गर्दै, निर्वाचनको समयमा जनता सामू गरेका प्रतिवद्धतालाई हृदयङ्गम गर्दै, अव म गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा अंगिकार गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु । ‘हाम्रो परिकल्पना, समृद्ध दंगीशरण’’ भन्ने दिर्घकालीन सोचका साथ सन्तुलित विकासको माध्यमबाट जनतामा समृद्धि हासिल गरी आम नागरिकलाई शुसासनको अनुभूति दिलाउने प्रमुख लक्ष्य अनुरुप हाम्रा क्रियाकलापहरु संचालित हुनेछन् । उपयुक्त सोंच र लक्ष्यबाट क्रियाकलापहरु लाई निर्देशित गर्दै निम्न उद्देश्यहरु पूर्ति गर्ने तर्फ अग्रसर रहने छौं ।