तुलसीपुरमा स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाईदै

तुलसीपुर, ४ चैत ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले स्थायी नियुक्ती भएका शिक्षकहरुलाई प्रधानाध्यापक बनाउने तयारी गरेको छ । हाल अस्थायी, करार तथा तल्लो तहका शिक्षकहरु माथिल्ला तहको प्रधानाध्यापक रहने गरेको भन्दै त्यसलाई सुधार गरेर स्थायी तथा योग्य शिक्षकलाई प्रधानाध्यापक बनाउन लागिएको हो । ११ फागुनमा सूचना जारी गरेर १५ दिनमा सम्पर्कमा आउन स्थायी शिक्षकलाई अनुरोध गरेको छ ।

उपमहानगरपालिकाको गत फागुन २६ गते बसेको कार्यपालिका बैठकले उपमहानगरभित्रका विभिन्न ९ माध्यमिक तथा १० आधारभूत तहका विद्यालयमा प्रधानाध्यापक हुन चहाने शिक्षकहरुकालागि सूचना जारी गरेको हो । अहिले ति १९ वटा विद्यालयमा अस्थायी तथा तल्लो तहका शिक्षकहरुले प्रधानाध्यापकको नेतृत्व सम्हालि रहेका छन् । जसले गर्दा शिक्षण कार्यमा पनि असर गरेको भन्दै यो कार्य अघि बढाईएको हो । यो तुलसीपुरमा नयाँ अभ्यास रहेको छ ।


पटक–पटक योग्यता अनुसारका प्रधानाध्यापक राख्नु पर्ने माग बमोजिम कार्यविधि बनाएर यो कार्य गर्न लागिएको हो । तुलसीपुरमा यो भन्दा अघि शिक्षकहरुको क्षमता विकास, भौतिक, आर्थिक सहयोग तथा ब्यबस्थापन समितिको क्षमता विकासको कार्य गरिदै आईएको थियो ।