तुलसीपुर कार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित, पत्रकार विश्वकर्मा बने सदस्य

तुलसीपुर ,२१ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यका लागी जननिर्वाचितबाट पाँच जना महिला सदस्य र मनोनित तर्फबाट तिन जना गरी आठ जना निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले निर्वाचन कार्यतालिका अनुसार शनिवार उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै निर्विरोध निर्वाचित भएको घोषणा समेत गरेको छ । निर्वाचित हुनेमा महिलातर्फ तुलसीपुर १ बाट गौरी नेपाली,वडा नम्वर ६ बाट यमुना परियार, वडा नम्वर ९ बाट बसन्ता केसी, वडा नम्वर १५ बाट सिता कुमारी लामीछाने र वडा नम्वर १६ बाट रिखा शर्मा रहनु भएको छ ।

यस्तैगरी दलित तथा अल्यसंख्यकतर्फ तुलसीपुर ४ बाट लक्ष्मण विश्वकर्मा, वडा नम्वर १२ बाट मोहन विक र वडा नम्वर १७ बाट तुलाराम नेपाली निर्वाचित हुनु भएको छ । सवै उमेदवारहरुको एकल उमेदवारी परेकाले निर्वाचन कार्यालय शनिवार दिउँसो तिन बजे निर्वाचित भएको घोषणा गरेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिनुभयो ।उनीहरु आठ जनाको मात्रै उमेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । उनीहरुलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम आउदो मंगलवार गर्ने तयारी भईरहेको उहाले जानकारी दिनुभयो ।


गत विहिवार भएको मनोनयन दर्ताको दिन नेकपा एमालेका उमेदवारहरुले मात्रै उमेदवारी दर्ता गराएका थिए । तुलसीपुरमा १९ वटा वडाका १९ जना वडा अध्यक्ष , प्रमुख र उपप्रमुख तथा निर्वाचित आठ जना गरी २९ जनाको कार्यपालिका सदस्यीय बनेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।
पत्रकार विश्वकर्मा बने कार्यपालिका सदस्य
तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा पत्रकार लक्ष्मण विश्वकर्मा निर्विरोध निर्वाचित हुनु भएको छ । नेकपा एमालेबाट दलित कोटाबाट उहा कार्यपालिका सदस्यमा निर्वाचित हुनु भएको हो ।

झन्डै एक दशक देखी पत्रकारिता गर्दै आउनु भएका विश्वकर्माले राप्ती पोष्ट राष्ट्रिय दैनिक पत्रिका, जनरक्षा साप्ताहिक पत्रिकामा आबद्ध हुदै हाल रेडियो प्रकृतिको निमित्त सम्पादक र तुलसीपुर खवरडटकमको सहसम्पादक तथा तुलसीपत्र दैनिक पत्रिकामा समाचारदाताको रुपमा काम गर्दै आउनु भएको थियो । विभिन्न सामाजिक संघसंस्था हुदै पत्रकारिता सुरु गर्नुभएका विश्वकर्माले औपचारिक रुपमा राजनितिक यात्रा सुरु गर्नुभएको छ ।