१२ वर्ष विदेश बसेर फर्केपछि गाईपालनबाट उन्नति

तुलसीपुर / कुनै समय विदेशमा चर्को घाममा पसिना बगाउँदै मजदुरी गर्थे, दाङ–तुलसीपुर उपमहामनगरपालिका वडा नं। ३ डाँडाखुट्टीनिवासी तेजबहादुर केसी । तर, अहिले उनको आफ्नै गाई फार्म छ । १२ वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले उनलाई आत्मसम्मान, इज्जत, प्रतिष्ठाका साथै आम्दानी पनि बढाएको छ । उनले रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष दुबई र तीन वर्ष साउदीमा बिताएका छन् ।

अर्काको देशमा पसिना बगाउँदा उनलाई लाग्यो, ‘यति मिहिनेत नेपालमै गरे त आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ ।’ त्यसपछि उनले आफ्नै गाउँ फर्केर पशुपालन गर्ने सोच बनाए । ०६१ सालदेखि लगातार १२ वर्षको विदेश बसाइ टुंग्याएर ०७४ सालदेखि व्यावसायिक गाईपालनमा लागे । ‘मिहिनेत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, हामीले अहिले जुन पसिना विदेशमा खेर फालिरहेका छौँ, त्यो पसिना नेपालमै बगाउनुपर्दो रहेछ,’ उनले भने, ‘अब विदेश जाने व्यक्तिहरूले यो विषयमा सोच्नुपर्छ ।’

उनले अहिले मासिक करिब एक लाख २० हजारको कारोबार गर्छन् । सबै खर्च कटाएर ५० देखि ८० हजारसम्म मासिक आम्दानी हुने उनको भनाइ छ । घरपरिवारसँग पनि छुट्नुनपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उनी बताउँछन् । उनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गरेका हुन् । अहिलेसम्म उनले उक्त संस्थाबाट पाँच लाखसम्म ऋण लिइसकेका छन् । आफूसँग पैसा नहुँदा ऋण लिएर भए पनि व्यवसाय गर्न सकिने उनी बताउँछन् ।

उनले हाल १८ वटा गाई पालेका छन् । तीमध्ये सातवटा गाईले दूध दिन्छन् । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुने र बिक्री गर्ने गरेका छन् । हाल उनले होलिस्टेन र जर्सी गाईपालन गरेका छन् । गाईपालन मात्रै नभई उनले बाच्छा बेच्ने पनि गरेका छन् । उक्त व्यवसायमा ३०–३५ लाखको हाराहारीमा लगानी भएको छ । ‘अहिलेसम्म जति लगानी भएको थियो, त्यो सबै लगानी उठिसकेको छ,’ उनी भन्छन्, ‘लगानी उठेर पनि चार कट्ठा जग्गा लिइसकेको छु ।’ बुबाआमाले पनि कृषि तथा पशुपालन नै गरेकाले आफूले पनि त्यही पेसा अँगालेको उनी बताउँछन् । उनले अहिले १० हजार तलब दिएर कर्मचारी पनि राखेका छन् । उनले चितवनबाट ८० हजारदेखि एक लाख रुपैयाँसम्ममा गाई खरिद गरेर ल्याएका हुन् ।


बोयर बाख्रापालन
उनले बोयर बाख्रा पनि पालन गरेका छन् । मुलुकमा भएको कोभिड संक्रमणका कारण गाईको दूध बिक्री हुने अवस्था नभएपछि पहिलो लकडाउनको समयमा उनले बाख्रापालन पनि सुरु गरेका हुन् । उनका खोरमा २६ वटा बाख्रा छन् । बाख्राबाट हाल वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन् । ‘लकडाउनमा गाईको दूध बिक्री हुने अवस्था नभएपछि ब्यालेन्स गर्नलाई बाख्रा पनि पालन सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले त्यसैलाई निरन्तरता दिएको छु, यसलाई अझै व्यवस्थित बनाएर लैजाने योजना बनाएको छु ।’

परिवार पनि खुसी
यो व्यवसायबाट परिवार पनि त्यतिकै खुसी छन् । ‘श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपथ्र्यो,’ श्रीमती सरिताले भनिन्, ‘तर, अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।’ पहिले दूध किनेर खाने उनीहरू अहिले आफैँले गाईपालन गरेपछि घरमै खान पनि सजिलो भएको छ ।

व्यवसायी प्रोत्साहन गर्न कर्जा
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले व्यवसायीहरूलाई हौसला प्रदान गर्न कर्जाहरू प्रदान गर्दै आएको छ । यही कर्जाले व्यवसायीहरूलाई ऊर्जा थप्ने गरेको संस्थाका तुलसीपुर शाखा प्रबन्धक चन्द्रबहादुर थापाले बताए । ‘हामीले व्यावसायिक रूपमा जोडिन चाहनेलाई ऋण दिने गरेका छौँ,’ उनले भने, ‘यसले व्यवसायीहरूको मुहान नै परिवर्तन गरिदिएको छ ।’ संस्थाको तुलसीपुर शाखामा पाँच हजार दुई सय सदस्य छन् । तीमध्ये तीन हजारजनालाई यस्तो ऋण लगानी गरिएको प्रबन्धक थापा बताउँछन् । उनका अनुसार ग्रामीण क्षेत्रमा जो विकास बैंकको पहुँचमा हुँदैनन्, उनीहरूलाई कर्जा दिने गरिएको छ । सुरुमा ५० हजार ऋण लगानी गर्ने र व्यवसायीहरूको मिहिनेतअनुसार ऋण थप्दै लगिएको उनको भनाइ छ । साभारः अग्रिम साप्ताकिक

May be an image of 2 people and text