आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई र बैङ्गलोरबीच खेल हुने

काठमाडौ, २९ चैत ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि एक मात्र खेल हुने भएको छ । आजको खेलमा चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको डाक्टर डीवाई पाटील स्पोटर््स एकेडेमी मैदानमा हुने आजको खेल साँझ ७:४५ मा सुरु हुनेछ । जारी लिगमा साविक विजेता चेन्नईले एक खेलमा पनि जित हात पार्न सकेको छैन भने बैङ्गलोर तालिकाको तेस्रो स्थानमा रहेको छ । यसअघि गयराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।


लिगमा हालसम्म ४ खेल खेलेको गुजरातले ३ मा जित हात पारेको थियो । सनराइजर्स हैदराबादले गुजरातलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बल खेल्दै जम्मा २ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।