राजतन्त्र फाल्दा भत्काइएको सालिक अहिले राखियो

दीपक बोहरा
दाङ
१४ चैत /  २०६२/०६३ सालको जनआन्दोलनका क्रममा देशब्यापी रुपमा राजाका सालिक फाल्ने अभियान थियो । त्यही क्रममा तुलसीपुर स्थित विरेन्द्र चौकमा रहेको पूर्व राजा बीरेन्द्र शाहको सालिक फालियो।तत्कालिन काँग्रेस,एमाले, माओवादीसहितका दलको मोर्चाले सालिक फालेका थिए । त्यहाँबाट सालिक भत्काएर गाडिएको अबस्थामा हालको राप्ती प्रादेशिक अस्पताल परिसरमा छियाछिया भएको अबस्थामा भेटिएको थियो । त्यो सालिक काम नलाग्ने भएपछि विरेन्द्र चौकमा सालिक राखिएन ।

१६ बर्षसम्म त्यहा विरेन्द्रको सालिक विहीन थियो । तर, नाम भने‘विरेन्द्र चोक’ नै कायम थियो । २०६२/०६३ को आन्दोलनकै जगबाट राजतन्त्र फालेर गणतन्त्र स्थापना गरिएको थियो । २०६५ जेठ १५ गते राजतन्त्र फालेर नेपाललाई संघीय लोकतान्त्रि गणतन्त्र घोषणा गरिएको थियो । २३८ बर्ष लामो शाहबंशीय राजतन्त्र अन्त्य पछि मुलुकमा २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भयो । सोही संविधान अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो ।

त्यही निर्वाचनबाट विजयी भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विरेन्द्रकुमार शाहले आफू विजयी भएदेखि नै विरेन्द्र चोकमा सालिक राख्ने योजना बनाएका थिए । काँग्रेसबाट निर्वाचित शाहले २०७५ साल बैशाखमा सालिक राख्ने तयारी गरेका थिए । तर, त्यहाँ ब्यापक विरोध भएपछि सालिक राख्ने कार्य रोकिएको थियो । यस क्षेत्रका संघीय सांसद हिराचन्द्र केसी, तुलसीपुरका मेयर घनश्याम पाण्डेलगायतले समेत यो कार्यको विरोध गरेका थिए । उनीहरुले ‘विरेन्द्र चोक’को ठाउँमा ‘गणतन्त्र’ चोक राख्नु पर्ने बताउँदै आएका थिए । तर, वडाध्यक्ष शाहले त्यो कुरालाई कुनै प्रवाह नै गरेनन् ।

फलस्वरुप सोमबार राजा विरेन्द्रको सालिक राखेका छन् ।‘हामील इतिहास बचाउनु पर्छ, कुनै पनि इतिहासलाई मेट्नु हुँदैन’,उनले भने‘ लखनउमा जंगबहादुरका सालिक छ, हिटलरको सालिक पनि छन्, इन्डियामा स्टइन्डियाको स्ट्याचु पनि छ, काठमाडौंमा बिभिन्न स्ट्याचुहरु छन्, त्यसैले हामीले यहाँ विरेन्द्रको सालिक राख्न पाउनुपर्छ ।’

इतिहासलाई संरक्षण गर्नुपर्र्छ, भनेर वडाबाट निर्णय गरि आर्थिक सहयोग संकलन गरिएको थियो । त्यही रकमबाट सालिक ल्याईएको उनी बताउछन् ।‘हामीले वडाबाट निर्णय गरेर सबैसंग सहयोग संकलन ग¥यौं, हामीले वडाको रकम यसमा हालेका छैनौं, शुभचिन्तकहरुबाट नै संकलन गरेको हो’,उनले भने‘यसको रकम कति लाग्यो भन्ने कुरा हामीले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने छौं ।’ यस अघि पनि नगरसभाबाट पास गरेर त्यहाँ विरेन्द्र चोकको सालिक राख्ने स्थानलाई संरक्षण गरिएको थियो ।

तुलसीपुर क्षेत्रमा सवारी साधनको चाप पनि बढेको र ठूला–ठूला सवारी साधनहरु पनि भित्रिएकाले त्यो चोकमा सालिक राख्ने स्थानलाई फाल्नु पर्ने आवाज उठ्दै आएको थियो । त्यहाँ घुम्ती सानो हुँदा पटक–पटक दुर्घटना भएका छन्, भने ठूला सवारी साधनहरु मोड्न समेत समस्या हुने गरेको छ ।


जनताबाट प्रतिकार हुन सक्छ : भण्डारी
सालिक राखेको प्रति कम्युनिष्ट नेताहरुले भने आपत्ति जनाएका छन् । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य शेसुराम भण्डारीले जनआन्दोलनको बेला जनताले फालेको सालिक राख्नु भनेको जनताप्रतिको अपमान भएको बताए ।‘त्यो सालिक २०६२÷०६३ सालमा जनताले फालेको हो, जनताले फालेको सालिक राख्नु भनेको जनताको भावना प्रतिको अपमान हो’,उनले भने‘यो कार्य जनताबाट प्रतिकार पनि हुनसक्छ ।’

यसरी सालिक राख्दा सर्वदलिय, सर्वपक्षिय सहमति हुनुपर्ने समेत उनको भनाई थियो ।तर, जबरजस्ती रुपमा सालिक राख्नु गलत भएको उनले बताए ।

राजावादीहरु खुसी
सालिक राखेकोप्रति राजावादीहरु भने खुसी भएका छन् । सालिक राख्ने क्रममा सहभागि भएका राजावादी निकट पार्टी राप्रपाले ‘हाम्रो राजा प्राण भन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए ।

यो कार्य निकै स्रहानिय भएको राप्रपा दाङका उपाध्यक्ष बंशीकुमार शर्माले बताए ।‘राजा भनेको सबैका साझा हुन्, धार्मिक मात्रै नभई एतिहासिक रुपमा पनि राजालाई सबैले मान्नु पर्छ’, उनले भने‘स्थानीय सरकारले आफ्नो स्वायत्त सरकारको हक प्रयोग गर्दै जुन कार्य ग¥यो यसमा हामी निकै खुसी छौं, वडालाई धन्यवाद पनि दिन चहान्छौं ।’