तुलसीपुर बजार भित्रैको सडक तीन महिनादेखि अलपत्र

दाङ
१ चैत / दाङको तुलसीपुर बजार भित्र तीन महिनादेखि सडक स्तरोन्नतीको काम अलपत्र भएपछि स्थानीयहरु आन्दोलित बनेका छन् । मुख्य बजारमै तीन महिनादेखि सडक निर्माण कार्य अलपत्र भएपछि स्थानीयहरुले मंगलबार विहान सडक अवरुद्ध गरेका थिए । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुरको गुम्राहचोकदेखि बाहिनी चोकसम्मको सडक तीन महिनादेखि अलपत्र छ । सडक अल्पत्र हुँदा धुलाम्मे हुने गरेको छ । धुलोले गर्दा यात्रुहरुलाई आवतजावतमा नै समस्या हुने गरेको छ ।

गएको पुसदेखि निर्माणको काम सुरु गरिएको हो । त्यहाँ पहिले गरिएको कालोपत्रे सडक उतारेर नयाँ कालोपत्रे गर्न लागिएको हो । तर, अहिले नयाँ कालोपत्रे नुहँदा धु्लाम्मे हुने गरेको छ । यसले यात्रुलाई त सास्ती गरेको छ नै, त्यहाँका स्थानीयहरुलाई पनि उत्तिकै सास्ती हुने गरेको छ । सडकको धुलो घरभित्रै पस्ने गरेको स्थानीय अनिल रिजालले गुनसो गरे ।“यो सडक निर्माण अलपत्र भएको तीन महिना भयो, सडक निर्माणको काम ठप्प भएको छ, यसले गर्दा यहाँ धुलोले ब्यबसाय पनि चौपट्ट छ, यात्रुहरुलाई पनि आवतजावत गर्न समस्या छ’,उनले भने‘हामीले पटक–पटक ध्यानाकर्षण गरायौं, त्यही पनि सुनुवाई नभएपछि सडक अबरुद्ध गरेका हौं ।”

आफूहरुले सडक निर्माण कार्य सुरु नहुदासम्म आन्दोलनलाई शसक्त बनाउँदै लैजाने समेत बताएका छन् ।
सडक धुलाम्मे भएर जनजीवन नै प्रभाबित हुन थालेपछि त्यस क्षेत्रका ब्यबसायी,स्थानीयलगायतले पानी सडकमा पानी समेत राख्ने गरेका थिए । तर, त्यो पनि प्रभाबकारी भएन ।


दुईलेनको राप्ती लोकमार्गलाई चौडा बनाउनकालागि त्यहाँ काम सुरु गरिएको हो ।त् यसकालागि संघीय सरकारले ३ करोड ३५ लाख ९४ हजार (भ्याटसहित) ठेक्का सम्झौता भएको थियो । पुष्पाञ्जली पिएस प्रालिले निर्माणको जिम्मा पाएको छ । यो कम्पनीले निर्माणमा बिलम्ब गरेपछि उपमहानगरपालिकाले पटक–पटक दवाब पनि दिने तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नबराज लामिछानेले बताए । उनका अनुसार आफूले तत्काल यो सडक निर्माणको कामलाई अघि बढाउनकालागि सडक डिभिजन कार्यालयमा पनि पहल लिइरहेको र छिटै सुरु हुने वातावरण तयार गर्ने बताए ।‘म पनि यही सडकमा हिड्छु, मैले पनि धुलो खाएको छु’,उनले भने‘ म यही वडाको वडाध्यक्ष पनि हुँ, म तत्काल यो सडक निर्माणको कामलाई अघि बढाउन दबाब दिन्छु ।’

सडक निर्माणको काम चैत मसान्तसम्म सक्नु पर्ने गरि सम्झौता भएको थियो । तर, लामो समयदेखि काम रोकिएकाले समयमै काम सम्पन्न हुने कुरामा शंका उत्पन्न भएको छ ।