स्थानीय पाठ्यक्रम तयार गर्न गढवामा बृहत्त छलफल

शिबराज पन्थी,
गढवा २३ फागुन ।

गढवा गाउँपालिकाले गाउँपालिकाभरका आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्थानीय बिषयको पाठ्यक्रम तयार गर्न संचार चौतारी दाङले तयार गरेको मस्यौदा माथी आइतवार बृहत छलफल र सुझाव संकलन गरेको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा संचार संचारी दाङका सुदर्शन रिजालले स्थानीय पाठ्यक्रमको मस्यौदा प्रस्तुत गर्नुभएको हो ।
पाठ्याक्रमको मस्यौदामा गढवा गाउँपालिकाको परिचय झल्कीनेगरि हाम्रो गढवा,पर्यटकिय धामिृक र पुरातात्विक स्थलहरु,स्थानीय संस्कार र संस्कृतिको पहिचान,स्थानीय पेशा ब्यवसाय (कृषि तथा पशु र सिपमा आधारीत),बिपद् ब्यवस्थापन तथा सुरक्षित बिद्यालय र जिवनोपयोगी सिप तथा नैतिक मुल्यमान्यतामा आधारीत शिक्षा उल्लेख गरिएको छ । यसैगरी उक्त पाठ्यक्रममा गढवा गाउँपालिकामा रहेका सरकारी गैर सरकारी सामाजिक संघसंस्था तथा स्वास्थ्य संस्थाहरु र बिशिष्ट ब्यक्तित्वहरु,वन वातावरण र हरित बिद्यालय तथा स्वास्थ्य,सरसफाई र योगा का बारेमा कक्षा १ देखि ८ सम्म का पाठ्यक्रममा बिषयबस्तुहरु समावेश गर्नेगरि शैक्षिक सरोकारवाला बिच मस्यौदा माथी बृहत छलफल गरिएको छ ।
छलफलमा आएका बिषयबस्तु तथा सुझावहरुलाई मस्यौदा समितिले थप गर्ने र गाउँपालिकाको शिक्षा समिति,कार्यपालिका हुदै गाउँसभाले अनुमोदन गरेपछि आगामीबर्षदेखि उक्त पाठ्यक्रम तयार गरि पठन–पाठनमा कार्यान्वयन गरिने शिक्षा प्रमुख श्याम बिकले जानकारी दिनुभयो । दाङ जिल्लाका तुलसीपुर उपमहानगर पालिका,बंगलाचुली गाउँपालिका,शान्तीनगर गाउँपालिका,राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले यस्तो नविनतम अभ्यास सुरु गरेको संचार चौतारीका शुदर्शन रिजालले जानकारी दिनुभयो ।
कर्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले ढिलै भएपनि शिक्षा क्षेत्रलाई समृद्ध गर्ने अभियानमा गाउँपालिका लागिरहेको बताउनुभयो । निजी स्रोतका शिक्षकहरुलाई स्वयंसेवक शिक्षक परिचालन कार्यबिधि अनुमोदन गरि कार्यान्वयनमा ल्याइएको उहाँले बताउनु भयो । समग्र गढवा गाउँपालिकाको सम्पुर्ण चिनारी रहनेगरी कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गर्ने लक्ष्य अनुरुप गाउँपालिका निरन्तर अगाडी बढेको र यस पबित्र कार्यमा सबै बौद्धिक पक्षको सहयोग जरुरी रहेको अध्यक्ष यादवले बताउनुभयो ।
पठ्यक्रम निर्माण गर्न संचार चौतारी दाङले गढवा गाउँपालिकाका सबै वडाहरु तथा बिभिन्न भाषाभाषि वर्ग समुदायसंग पुगेर गढवा गाउँपालिकाको समग्र बस्तुगत अवस्थाको बिस्तृत अध्ययन गरि मस्यौदा तयार गरेको सुदर्शन रिजालले जानकारी दिनुभयो । पाठ्यक्रममा मुस्लीम,मगर,थारु,यदुबंसी,कुमाल,बोटे,माझी तथा लोपोन्मुख पिछडा वर्गहरु लगायतको धर्म संस्कृति,चालचलन,रितिरिवाज र परम्पराहरुलाई पनि समावेश गरिने उहाँले बताउनुभयो । उक्त काममा संचार चौतारीको प्राबिधिक सहयोग रहने कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रमको सहजीकरण संचार चौतारी दाङका सुदर्शन रिजाल,हरेकृष्ण ज्ञवाली र मुकुन्दराज रिजालले गर्नुभएको थियो ।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका प्रतिनिधी दिनमणि आचार्य,नागरिक समाज गढवाका संयोजक शंकर पाण्डेय,चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाका सभापति दयाराम यादव लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा सबैजसो निजी र सरकारी बिद्यालयका प्रधानाध्यापकहरु,शिक्षक महासंघ,शिक्षकहरुका पेशागत महासंघका अन्य प्रतिनिधीहरु र स्थानीय संघसंस्था लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन जनता माबि गढवाका प्रधानाध्यापक रामसुरत यादवले गर्नुभएको थियो ।