तुलसीपुरमा प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

दाङ, १९ असोज ।
तुलसीपुरमा प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा असोज १७ गते राति करिब १२ बजेतिर बेलुवास्थित चिउरा मिल नजिक केही युवाहरूले होहल्ला गर्दै स्थानीयको घरमा ढुंगा हानेको भन्ने सूचनापछि प्रहरी खटिएको थियो ।

सूचना पाएलगत्तै प्रहरी चौकी बेलुवाबाट प्रहरी सहायक निरीक्षक प्रकाश नेपालीको कमाण्डमा दुई जनाको गस्ती टोली मोटरसाइकलमा घटनास्थल पुगेको थियो ।


प्रहरीका अनुसार टोलीले युवाहरूलाई सम्झाई बुझाई गरिरहेको क्रममा उनीहरूले प्रहरीलाई गालीगलौज गर्दै हातपात गर्न खोजेको इलाका प्रहरी कार्यालय तुलसीपुरमा सूचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । त्यस क्रममा एक जनाले प्रहरीमाथि खुकुरी देखाई डरत्रास सिर्जना गरेको सूचना अधिकारी रानाले बताउनुभयोे ।

घटनामा संलग्नमध्ये तुलसीपुर–९ बेलुवाका १८ वर्षका खगेन्द्र वलीलाई असोज १८ गते बिहान ७ बजे घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।